बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

  जेठ २९, २०७८

राँझा, जेठ २९ : कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै केन्द्रविन्दु “हटस्पट” बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ । यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिन सक्ने भएकाले त्यसको सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी गरिरहेका छन् ।

बाँकेमा अहिले काोरोना भाइरस सङ्क्रमण र मृत्युदर ह्वातै घटे पनि पुनः तेस्रो लहरको महामारी फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी शुरु गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँले तेस्रो लहरको कोरोना महामारी फैलिन नदिन अहिलेदेखि नै योजना बनाएर काम शुरु गरिएको बताउनुभयो । तेस्रो लहरको कोरोना महामारी नियन्त्रण तथा प्रतिकार्यका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी, आइसोलेसन केन्द्र, अस्पताल तथा आवश्यक पर्ने बजेट व्यवस्थापनलगायत सवालमा पूर्वतयारी शुरु गरिएको उहाँको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले फेरि पनि कोरोना महामारी सङ्क्रमण फैलिन सक्ने आशङ्का गर्दै आगामी आर्थिक वर्षको बजेट त्यसतर्फ लक्षित गरेर रोकथाम न्यूनीकरणका कार्यक्रम तय गर्ने भएको छ । त्यसका लागि प्रदेश, केन्द्र सरकार र स्वास्थ्यमा काम गर्ने सङ्घ संस्थासँग समन्वय गरेर आवश्यक पूर्वतयारी गरिएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तेस्रो लहरको कोरोना महामारीसँग जुध्न जिल्लास्तरमै आवश्यक रणनीति तयार गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले बाँके भारतीय सीमावर्ती जिल्ला भएकोले आवागमनलाई रोक्ने, स्वास्थ्य जाँच बढाउने र स्थानीय तहहरुसँग समन्वय गरेर पूर्वतयारी र योजनाका साथ काम गरिने जानकारी दिनुभयो ।

शुक्रबार बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कूल १८४ नमूना परीक्षण गर्दा ती सङ्ख्यामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । शुक्रबार भेरी अस्पतालको प्रयोगशालामा १२७ नमूना परीक्षण गर्दा ५६, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परीक्षण गरिएको ३५ नमूनामा ३ र बागेश्वरी ल्याबमा गरिएको २२ नमूना परीक्षणमा ७ गरि कूल ६६ जना सङ्क्रमित थपिएका हुन् । सङ्क्रमण पुष्टि हुनेहरुमध्ये बाँकेका १० जना छन् । तीमध्ये पाँच महिला र पाँच रहेका छन् ।

हालसम्म बाँकेमा ८१ हजार ६०८ जनाको पिसिआर परीक्षण गरिएको छ । बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट ३०६ र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका ३३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया