मेरुदण्ड भाँचिएका थापाको साढे दुई वर्षपछि फर्किएको खुसी

  जेठ २९, २०७८

बेनी, जेठ २९ : २०७५ सालको कार्तिकमा घर नजिकैको जङ्गलमा लडेर मेरुदण्ड भाँचिएपछि थलिएका ४१ वर्षीय कर्णबहादुर थापाको मुहारमा शुक्रबार केही मुस्कान छायो । पर्वत जिल्लाको म्याग्दी सदरमुकाम बेनीसँगै जोडिएको जलजला गाउँपालिका–८, ओडारेका निम्न आयस्तर भएका कर्ण बहादुरलाई क्वीक रेस्क्यु फोर्स जलजला कमिटीले उपलब्ध गराएको ह्वील चियरमा बसेर कोठाबाट बाहिर निस्कँदा मन्द मुस्कान थियो ।

जलजला गाउँपालिकाको क्वीक रेस्क्यु फोर्सका संयोजक दीलिप बरुवालले संयोजन गरेर पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीमार्फत व्यवस्था गरेको ह्वीलचियरसहित पुगेको टोलीले ह्वीलचियरसँगै नगद चार हजार पाँचसय रुपैयाँ समेत उपलब्ध गराएको थियो । क्वीक रेस्क्यु फोर्स जलजलाको आर्थिक विभागका महेन्द्र रेग्मीले फोर्सको तर्फबाट दुई हजार र रेस्क्यु फोर्सका अन्य सदस्यले व्यक्तिगत रुपमा दुईहजार पाँचसय गरी उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

ह्वीलचियर प्राप्त गरेपछि खुसी भएका कर्णबहादुरकी पत्नी गंगा थापाले भन्नुभयो, ‘‘छोरा १० वर्षको छ, छोरी १६ र १९ वर्षका छन्, छोराले सक्दैन छोरीलाई लगाउने कुरा भएन कहिलेकाहीँ आफैँ बोकेर बाहिर ल्याउँथे नत्र भने भित्रै सुत्ने हो । बिस्तरामै सुतिरहने उहाँले दिसापिसाब पनि कन्ट्रोल गर्नुहुन्न, कुन बेला चुहिन्छ थाहै हुँदैन, छोरीले बाबाका त्यो स्याहार्ने कुरा भएन छोरा सानो छ, म कहिँकतै कमाउन जान पनि पाउँदिन । लामो समय सुतेर ढाडमा तीन वटा घाउ भएको छ, अब त कम्तीमा ह्वीलचियरमा राखेर बाहिर–भित्र गर्न सक्नुभयो भने पनि परिवारलाई राहत हुने उहाँले बताउनुभयो ।

गंगा भन्नुहुन्छ, ‘एक बिहानको मेलो मात्रै छ हाम्रो, अलिकति अधिँया लिएका छौंं, कमाउने श्रीमान् नै यस्तो भएपछि हुर्केका छोराछोरी बढाउने र पढाउने गर्न निकै हम्मेहम्मे भएको छ ।’ गंगाले थप्नुभयो– गतवर्ष पनि महेन्द्र सरले सहयोग गर्नुभएको थियो अहिले पनि उहाँहरु नै आउनुभयो, हामीलाई अप्ठ्यारो पर्दा सहयोग पाउने गरेका छौं । छोरीलाई पनि सहकारीमा उहाँले नै जागिर मिलाइदिएपछि घरखर्च चलाउन अलि सजिलो भएको उहाँले जानकारी गराउनुभयो । घरको कमाउने मान्छे नै विस्तरामा परेपछि निकै कठिन भएको अवस्थामा सहकारीमा छोरीले जागिर पाउँदा नुन तेलको व्यवस्था भएको छ ।

क्वीक रेस्क्यु फोर्स राष्ट्रिय युवा संघ नेपाल एमाले जलजला गाउँ कमिटीको मातहतमा रहेर कोभिड–१९ तथा अन्य घटनाक्रममा राहत तथा उद्दारमा खट्ने गरेको छ । युवा संघ पर्वतका सदस्य उज्ज्वल अर्यालले कर्णबहादुरको घरदेखि मोटरबाटोसम्म पुग्ने करिब २५ मिटर सडक ह्वीलचियर चलाउन मिल्ने गरी ढलान गरिदिने बताउनुभएको छ । शुक्रबार कर्णबहादुरको घरमै पुगेका अर्यालले उक्त घोषणा गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया