मृत चितुवा फेला, ‘पोथीको होडबाजी’ मा जुध्दा मृत्यु भएको आशंका

  जेठ २७, २०७८

नुवाकोट, जेठ २६ : नुवाकोटको तारकेश्वर गाउँपालिकामा मृत अवस्थामा एक चितुवा भेटिएको छ । वडा नम्बर ५ को गोस्र्याङस्थित कात्तिके सामुदायिक बन क्षेत्रमा मृत भाले चितुवा फेला पारेको वडाअध्यक्ष चुडामणि गजुरेलले जानकारी दिनुभयो ।

मृत चितुवालाई बुधवार दिउँसो स्थानियबासीले प्रहरीको रोहवरमा रातमाटे सव बन डिभिजन कार्यालयलाई हस्तान्तरण गरेका छन् । स्थानीयका अनुसार वस्ती नजिकैको उक्त जंगलमा मंगलबार साँझ ८ बजे एकआपसमा चितुवा जुधेका थिए । सो समयमा करिब १० मिनेटसम्म गाउँ नै थर्काउने गरी जुधेका चितुवाहरुमध्ये एउटा भिरबाट खसेपछि अवस्था शान्त भएको वडाध्यक्ष गजुरेलले बताउनुभयो ।

त्यसपछि बाटो हिँड्ने क्रममा बिहान जुधेकै स्थानबाट डेढसय किलोमिटर तल सिरङ खोलामा एक चितुवा मृत अवस्थामा भेटिएको थियो । लगत्तै स्थायिनवासीले प्रहरीलाई खबर गरेपछि आइपुगेको प्रहरीसहितको रातमाटे सव डिभिजन वन कार्यालय महादेवफाँटका वन अधिकृत सुरेश गुप्ता नेतृत्वको टोलीले गरेको अनुसन्धानबाट चितुवाको मृत्यु हुनाको कारणसमेत फेला पारेको छ ।

वन अधिकृत गुप्ताका अनुसार स्थानियवासीले नजिकबाट आपसमा साँझ दुई चितुवा जुधेको देखेका थिए । ‘तीनवटा संख्यामा रहेकोमध्ये एक भाले चितुवाले पोथी चितुवा लिएर हिँडेपछि अहिले मृत भेटिएको चितुवाले त्यस पोथीसँग सम्भोग गर्न खोजेको देखिन्छ’, यसबारे रोचक तथ्य सुनाउँदै वन अधिकृत गुप्ताले भन्नुभयो–‘सोही क्रममा एउटा पोथी पाउने होडबाजीमा दुई भाले जुध्ने क्रममा पहिला पोथी लिएर हिँडेले पछिल्लो चितुवालाई मारेको हुनसक्छ ।’

घटनास्थल र मृत चितुवाको अवस्था पहिचान गर्दा घाँटीमा टोकेर गहिरो चोट लाग्नुका साथै पछि भिरबाट खसालिदिएका कारण टाउकोमा लागेको चोटले मस्तिष्कमा रगत जमेर मरेको अनुसन्धानले देखाएको उहाँले जानकारी दिनुभयो । ७४ इन्च लम्बाई र २४ इन्च उचाई भएको वयस्क उमेरको यो रिष्टपुष्ट चितुवा नेपालमै बिरलै भेटिने गुप्ताको दाबी छ । रातमाटे सव डिभिजन वन कार्यालय महादेवफाँट पु-याइएको मृत चितुवालाई जमिनमा गाढ्ने जिल्ला वन डिभिजन अधिकृत प्रेम सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया