प्रदेश २ मा काँग्रेसका मान्त्रिहरुले शपथ लिए, माओवादीका लागि गृहकार्य पुगेन

  जेठ २६, २०७८

काठमाडौं, जेठ २६ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहनुभएको छ । उहाँहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

यसैबीच, प्रदेश सरकारमा माओवादी केन्द्रलाई तात्कालै सहभागी गराउने योजना बिफल भएको छ । आजै सरकारमा सहभागी भई मन्त्री पदको शपथ गर्ने योजना रहेकोमा गृहकार्य नपुग्दा माओवादी केन्द्र सरकारमा सहभागी भएन । माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहले भन्नुभयो, “छलफल भएपनि गृहकार्य पुगेन, भोली पर्सि गृहकार्य गरेर आउन भनेका छौं ।” उहाँले जनता समाजवादी पार्टीका प्रतिनिधिहरु दिनभरि काँग्रेससँग छलफलमा ब्यस्त भएकोले ठोस निर्णय हुन नसकेको खुलाउनुभयो । “थप गृहकार्य गरेर आउनलाई भनेका छौं,” उहाँले बताउनुभयो ।

माओवादी केन्द्रले सत्ता सहकार्य गर्ने विषयमा निर्णय लिन संसदीय दलका नेता साहलाई जिम्मेवारी दिएको छ । माओवादी केन्द्रका हाल नौ जना प्रदेशसभा सदस्य प्रदेश सभामा छन् । ११ जना प्रदेशसभा सदस्यमध्ये माओवादी केन्द्रले चार जनालाई निलम्बन गरेकोमा समानुपातिक तर्फका एकजना थपिएका छन् ।

तपाईको प्रतिक्रिया