२०७५ जेठ २ गते कायम स्थायी कमिटी बैठक बोलाउन नेता गौतमको आग्रह

  जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न देखिएका विषयहरुमा छलफल गर्न आग्रह गर्नु भएको छ ।

उहाँले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उक्त आग्रह गर्नु भएको हो । नेता गौतमले ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु पर्ने बताउनु भएको छ ।

उहाँले पार्टी एकता पछि दुवै पक्षले जनतासामू व्यवस्थित आत्मालोचना गरे पछि वास्तविक समाधान हुने आशा देखिने बताउनु भएको छ । अहिले देखा परेका समस्या पार्टी वैठक पछि मात्र समाधान गर्न सकिने उहाँको भनाई छ । यो समाधान पछि संसार भरका कम्यूनिष्टलाई नयाँ सन्देश पनि दिन सकिने उपाध्यक्ष गौतमले भन्नु भएको छ ।

तपाईको प्रतिक्रिया