काठमाडौं, जेठ २४ : कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा चार लाख ९७ हजार ९६० जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८४.२ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै आज १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा पिसिआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो ।
सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सात हजार ९९० पुगेको छ । हाल नेपालमा ८५ हजार ५४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।