काठमाडौं, जेठ २४ : नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षमा रहदै आउनुभएको चार नेताहरु यतिबेला पार्टी एकताको आगामी रणनीतिबारे छलफल गर्दै हुनुहुन्छ ।
गएराती प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि वक्तव्य जारी गर्नुभएको थियो । पार्टी अध्यक्ष ओलीले नेपाल पक्षले भने अनुसार नै पार्टीलाई २०७५ जेठ ३ अगावैको अवस्थामा अगाडि बढ्न सकिने प्रतिबद्धता जनाउनुभएको थियो ।
यससँगै सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुषालबीचमा छलफल हुन लागेको छ । हामीहरु छलफलमा छौं, तर पार्टी अध्यक्षको वक्तव्य र आगामी दिशाबारे केही भन्न चाहन्न, एमाले नेता पाण्डेले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
पार्टी अध्यक्ष ओलीको वक्तव्य पश्चात् योगेश भट्टराइले तत्कालै वार्ताका र एकताका लागि बाटो खुलेको प्रतिक्रिया दिइसक्नुभएको थियो । पार्टीको पछिल्लो अवस्थाबारे छलफल भइरहेको नेता पाण्डेले बताउनुभयो । उक्त छलफल पनि नेता पाण्डे निवासमा भइरहेको जनाइएको छ ।