भेरी अस्पताल घटनाको छानविन प्रतिवेदन अध्ययन सुरु

  जेठ १९, २०७८

बाँके, जेठ १८ : भेरी अस्पताल नेपालगञ्जमा डिउटीमा खटिएका चिकित्सक र स्टाफनर्समाथि कुटपिट भएको घटनाको छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएपछि जिल्ला प्रशासन कार्यालय बाँके अध्ययन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो ।

प्रतिवेदनमा धेरै विषय उठान गरिएको छ, प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो, ‘सम्भवतः बुधबारसम्म कार्यान्वयन प्रक्रियामा जाने छ ।’ प्रतिवेदनले औल्याएका विषय कार्यान्वयनका लागि सम्वद्ध निकायमा पठाउने प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो । सुरक्षा व्यवस्थापनका विषयमा भने जिल्ला प्रशासन कार्यालयले कार्यान्वयन गरिसकेको छ ।

प्रतिवेदनमा भेरी अस्पतालमा भएको घटनाबाहेक, अस्पतालको समग्र व्यवस्थापन सुधार जनशक्ति आवश्यकता अनुसार थप गर्नुपर्ने लगायतका विषय उल्लेख गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा गठित छानविन समितिले चारदिनमा प्रतिवेदन तयार पारि बुझाएको हो । समितिका सदस्य भेरी अस्पताल विकास समितिका सदस्य धनीराम वलीले प्रतिवेदन सार्वजनिक गरि तत्काल कार्यान्वयन होस भन्ने आफुहरुको चाहना रहेको बताउनुभयो ।

भेरी अस्पतालमा उपचाररत दाङ तुल्सीपुर ११ का ५४ बर्षिय डिल्लीवहादुर रावतको बिहिवारराती उपचारकाक्रममा निधन भएपछि बिरामीका परिवार र आफन्तले उपचारमा लापरबाही भएको दाबी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन । घटनामा संलग्न दाङ तुल्सी ११ का मानवहादुर रावत, भरत रावत र लोकराज रावतमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

डिउटीमा डाक्टर चन्द्रप्रकाश साहु, नर्सिङ कर्मचारी सदिक्षा गैरे, अश्विनी गुरुङ, रिता अधिकारी र कविता पुनलाई लखेटेर हातपात गरेको, कुटपिट गरेको अस्पतालले जनाएको छ । डिउटीमै आक्रमण भएर क्याविन हुँदै शौचलयमा लुकेका उनीहरु त्यहाँ पनि आक्रमण भएर माथिल्लो तल्लाबाट हाम फोलर ज्यान जोगाएको बताएका छन् । आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरुले भेरी अस्पतालमा बेलुका विरोध प्रर्दशन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया