भारतबाट जमुनाह नाका भएर एक महिनामा ७१ हजार नेपाली फर्किए

  जेठ ०४, २०७८

नेपालगञ्ज, जेठ ४ : दोस्रो चरणको कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि भारतमा रोजगारीका लागि गएका ७१ हजार भन्दा बढी नेपालीहरु नेपालगञ्जस्थित जमुनाह नाका भएर नेपाल फर्किएका छन् ।

भारतमा संक्रमणले भयावह रुप लिएपछि त्यहाँका अधिकांश सहरमा कोरोना कर्फ्यू लगाईएकोले गत एक महिनाको अवधिमा रोजगारीका लागि त्यहाँ गएका ७१ हजार ७६ जना नेपालीहरु जमुनाह नाका भएर स्वदेश फर्किएको जमुनाह प्रहरीले जनाएको छ ।

सीमानामा रहेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई विष्णु गिरीले दोस्रो चरणको कोरोना लहर शुरु भएयता मात्रै यो नाकाबाट ७१ हजार ७६ जना नेपालीहरु नेपाल फर्किएको बताउनुभयो ।

उहाँले भारतमा अधिकांश सहर बन्द गरिएपछि दैनिक दुई हजारदेखि ३ हजार पाँच सयसम्म नेपालीहरु यो ननाका भएर स्वदेश फर्किएको बताउनुभभयो । हाल आएर दैनिक दुई हजारको हाराहारीमा नेपालीहरु फर्किरहेको पनि सई गिरीले बताउनुभयो ।

भारतबाट फर्किनेहरुको लगत संकलन तथा स्वास्थ्य परीक्षण र अन्य परामर्शका लागि जमुनाह नाकामा चैत ११ देखि हेल्थडेस्क स्थापना गरिएको छ ।

हालसम्म सो हेल्थ डेस्क पार गरेर ७१ हजार ७६ जना स्वदेश फिर्ता हुनुभएकोमा लक्षण चिन्ह देखिएकासहित १ हजार ५४१ जनाको एन्टिजिन परीक्षण गरिएकोमा १९८ जनामा कोभिड पोजिटिभ देखिएको जमुनाहस्थित हेल्थ डेस्कले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख राम बहादुर चन्दले धेरै ठुलो संख्यामा नेपालीहरु फिर्ता भैरहेकोले सिमिति जनशक्तिको भरमा नेपाल भित्रिनेको लगत संकलनका साथै स्वास्थ्य परीक्षण र एन्टिजेन परीक्षण समेत भैरहेको बताउनुभयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सहकार्यमा जमूनाह भन्सारमा भारतबाट फर्किनेहरुको सहजताका लागि होलिडङ सेन्टर समेत सञ्चालन गरिएको छ ।

भारतबाट फर्किनेहरुको सीमानाकामा हुने एन्टिजिन परीक्षणमा पोजिटिभ देखिएपछि राख्नका लागि होटल ह्वाईटहाउसमा ५० बेडको आईसोलेसन वार्ड सञ्चालन गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

उक्त आईसोलेसनमा घरमा आईसोलेसनको उपयुक्त व्यवस्था नभएका नगरबासीले समेत सेवा लिईरहनुभएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया