जसपाका अध्यक्षद्वयको गोप्य वार्ता, वार्ता निर्णायक रहेको नेताहरुको बुझाई

  जेठ ०२, २०७८

काठमाडौं, जेठ २ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच गोप्य बार्ता भइरहेको छ । वार्ता ‘कहाँ भइरहेको छ’ भन्नेबारे पार्टीका अन्य नेताहरुलाई समेत जानकारी गराइएको छैन ।

गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनेक्रममा जसपा दुई खेमामा विभाजित भएको थियो । अध्यक्ष ठाकुर पक्ष तटस्थमा बस्यो भने अर्का अध्यक्ष यादव पक्षका १५ सांसदले विपक्षमा मतदान गरे । त्यहीबेलामादेखि जसपा व्यवहारिक रुपमा फुटिसकेको र औपचारिक घोषणा मात्र हुन बाँकी रहेको सो दलका नेताहरुको बुझाई छ ।

प्रधानमन्त्री ओली संसदमा ठूलो दलको हैसियतले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि अध्यक्ष ठाकुर पक्षले समर्थन जनाएको छ । सरकारमा जाने तयारी समेत गरेको छ । तर यादव पक्षले त्यसको खुलेर विरोध गर्दैआएको छ । मधेसको माग सम्बोधनमा प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको र १२० जनाको मुद्दा फिर्ता गर्नुभएपछि थप मागहरु क्रमशः पुरा गराउने उद्देश्यसाथ ठाकुर पक्ष सरकारलाई समर्थन गरेको छ । केही समयपछि सरकारमा सहभागी हुने तयारी पनि गरेको छ ।

जसपा कार्यकारी समितिका केन्द्रीय सदस्य केशव झाकाअनुसार पार्टी व्यवहारिकरुपमा फुटिसके पनि औपचारिकता मात्र दिन बाँकी रहेको छ । त्यही विषयमा आज अध्यक्षद्वयबीच निर्णायक वार्ता भइरहेको छ । सम्भवतः आजको वार्ताले कुरा नमिलेमा पार्टी औपचारिकरुपमा फुटको दिशामा जाने उहाँको बुझाई छ । आजको वार्ताबारे पार्टीका नेताहरुलाई जानकारी नगराइएको पनि उहाँले जानकारी दिनुभयो ।

नेता राजेन्द्र महतो निकट मानिनुहुने केन्द्रीय सदस्य झाले भन्नुभयो, “वार्ता भइरहेको छ भन्नेसम्म जानकारी छ, तर कहाँ भइरहेको छ भन्ने औपचारिक जानकारी कसैलाई गराइएको छैन । सम्भवतः आजको वार्ता निर्णायक र अन्तिम हुनसक्छ ।” पार्टीभित्र स्पष्ट दुई खेमा भएपछि काम गर्न पनि समस्या भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गत वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिएकै दिन अध्यक्ष ठाकुर पक्षका सांसदहरु भक्तपुरको एक रिसोर्टमा जम्मा भएका थिए । बैठकमा उपस्थित २० जना सांसदले गोप्यरुपमा नेता महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । त्यो विषयलाई लिएर यादव पक्ष झन रुष्ट भएको छ । आफूहरुसँग बहुमत रहेको दावी गर्ने यादव पक्षका सांसदहरु अध्यक्ष ठाकुर खेमामा लागेपछि यादव अहिले अल्पमतमा परेका छन् । जसपासँग ३२ जना सांसद छन् ।

तपाईको प्रतिक्रिया