एमाले कार्यदल गठन प्रयास : दुवै पक्षको आन्तरिक छलफल जारी

  जेठ ०१, २०७८

काठमाडौ, जेठ १ : प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी विवाद समाधानका विषयमा बेग्ला बेग्लै  छलफल जारी छ । एमाले नेता सुवास नेम्वाङले दुवै पक्षबीचमा विवाद समाधानका लागि कार्यदल गठनका सम्बन्धमा आवश्यक पहल भइरहेको जानकारी दिनुभयो ।

उहाँले स्वयम् आफैले पनि पार्टी अध्यक्ष ओली र नेता नेपालसँग विवाद समाधानका लागि कुराकानीमा गर्ने जानकारी दिनुभयाे । त्यस्तै एमाले नेता माधवकुमार नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले पनि पार्टीको आन्तरिक विवाद समाधानका विषयमा अब बन्ने कार्यदलले टुङ्गो लगाउने बताउनुभयो ।

पार्टीको आन्तरिक विवाद समाधानका विषयमा बोल्दै उहाँले आजसम्म उक्त कार्यदल बन्ने भनिए पनि यसबारे आफूलाई प्रष्ट जानकारी नभएको बताउनुभयाे । एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएको छ ।

सपथ ग्रहणकै दिन प्रधानमन्त्री ओलीले पहिलाकै मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो ।  सो समय अगाडि लामो समयदेखि असन्तुष्ट पक्ष नेता नेपालसँग भेटवार्ता गर्नुभएको थियोे । उक्त भेटवार्ता सकारात्मक रहेको दुवै पक्षले बताउदै आएका छन् । यससँगै एमाले पार्टीभित्रको सबै आन्तरिक विवाद समाधानका विषयमा कार्यदल बन्ने एमाले नेता नेपाल पक्षले पनि बताउदै आएको छ ।

तपाईको प्रतिक्रिया