सात हजार ४४८ संक्रमित, दुई हजार २१ कोरोनामुक्त, ३७ को मृत्यु

  बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका मात्र सात हजार ४४८ जना सङ्क्रमित थपिएका छन् । आज संक्रमित पुष्टि भएकामध्ये तीन हजार ६६६ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज काठमाडौँ जिल्लामा दुई हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जना सङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्रमित अहिलेसम्मकै देशभरिमा र उपत्यकामा सबभन्दा बढी हो । अहिलेसम्म नेपालमा तीन लाख ४३ हजार ४१८ सङ्क्रमित भएका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई हजार २१ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ८६ हजार १५ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित सङ्ख्या बृद्धि हुनु र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर घटेर ८३.३ प्रतिशत भएको छ । हाल ५४ हजार ४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ३७ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ । यो सङ्ख्या २४ घण्टामा पुष्टि भएका मृतकको अहिलेसम्मकै सबैभन्दा बढी हो । हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३६२ जनाको मृत्यु भएको छ ।

हाल २१२ जना क्वारेन्टिनमा र ५४ हजार ४१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म २५ लाख २१ ह्जार १६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया