सेतीमा उपचाररत कोरोना सङक्रमितको मृत्यु

  बैशाख ०४, २०७८

धनगढी, वैशाख ४ : कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक वृद्धको शनिबार ज्यान गएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–१० का ८१ वर्षीय वृद्धको उपचारको क्रममा ज्यान गएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार शुक्रबार कोरोना सङ्क्रमण भएका ती वृद्धलाई सोही दिन नै अस्पताल भर्ना गरिएको थियो । स्वासप्रस्वासको गम्भीर समस्या भएकाले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा वृद्धको ज्यान गएको जनाइएको छ ।

योसंगै कोरोना सङ्क्रमणपछि सुदूरपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या ५९ पुगेको छ । यसैगरी, यो प्रदेशका केही व्यक्तिको नेपालगञ्ज र काठमाण्डौंका अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा हाल १९ जना सङ्क्रमित भर्ना भएका छन् । जसमध्ये दुई जनालाई भेन्टिलेटर, आठ जनालाई आइसीयुमा राखेर उपचार गर्ने कार्य भइरहेको छ । बाँकी नौ जना अक्सिजन ‘सपोर्ट’ मा रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

उहाँका गम्भीर स्वास्थ्य समस्या भएका सङ्क्रमितलाईमात्रै उपचारका लागि अस्पतालमा भर्ना लिने गरिएको छ । स्वास्थ्य समस्या सामान्य भएकालाई आइसोलेसनमा राख्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया