नेकपाको वैधानिकता र सूर्य चिन्ह आफूहरुले पाउने प्रचण्डको दाबी

  फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको वैधानिकता र चिन्ह आफूहरुले पाउने दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी छ ।” नेकपा निकट पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणासभालाई आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कोही भ्रममा पर्नुपर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ ।”

निर्वाचन आयोगको सेटिङ भत्किँदै गएको दाबी गर्दै उहाँले आयोगले केही दिनमै बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अब छिट्टै नयाँ सरकार बन्छ र त्यस सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिनेछ ।”

उहाँले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णयलाई नमान्ने र आफू सर्वेसर्वा भएको घमण्ड गर्दै ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याएको आरोप लगाउनुभयो । उहाँले पार्टीभन्दा बाहिर रहेका नेता तथा कार्यकर्तालाई मूल पार्टीमा फर्कन आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले नेकपाको मूल पार्टीको मान्यता र निर्वाचन चिन्ह आफूहरुले नै पाउने र त्यसको घोषणा हुन मात्रै बाँकी रहेको दाबी गर्नुभयो । उहाँले अब केही दिनमै दलबीच एउटा समझदारी बन्ने र मुलुकले निकास पाउने भन्दै जनताको आशा भरोसालाई माथि उठाउनुपर्नेमा जोड दिनुभयो । पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकताको घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया