सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

  माघ ०८, २०७७

सर्लाही, माघ ८ : पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफँै अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ । अरु तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ । नौ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ः५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया की रीता चौधरी रहेको दुर्घटनास्थलमा खटिनुभएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । उक्त यात्रुबसमा सवार बाँकी ११ जना सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ ।

छ महिनामा २१६ दुर्घटना
चितवनमा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन् । पूर्वपश्चिम लोकमार्गमा ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा २२ जनाको ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा ३४ वटा दुर्घटनामा छ जनाको मृत्यु र पृथ्वी राजमार्गमा भएका १२ दुर्घटनामा सात जनाको मृत्यु भएको छ । भरतपुर नगर (रिङरोड)मा भएका ३७ दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य सडमा भएका ५८ दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना मङ्सिरमा भएका छन् । मङ्सिरमा मात्र ५२ दुर्घटना भएको कार्यालयले जनाएको छ । चालु आवको पुस मसान्तसम्म सवारी दुर्घटनामा परी मृत्यु हुने ५८ जनामध्ये पुरूष ४८, महिला छ, बालक एक र बालिका तीन जना रहेका छन् । छ महिनाको अवधिमा भएका २१६ वटा दुर्घटनामा ३३६ सवारीसाधन संलग्न भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १६३ वटा मोटरसाइकल रहेका छन् ।

जिल्लामा भएका दुर्घटनामा तीव्र गति मुख्य कारण रहेको उहाँको भनाइ छ । तीव्र गतिका कारण १६१ वटा दुर्घटना भएको छ । चालकको लापर्बाहीले ३८, ओभरटेकका कारण १०, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सात र यात्रुको गल्ती र यान्त्रिक खराबीका कारण एक÷एक वटा दुर्घटना भएको उहाँको भनाइ छ । राजधानी प्रवेश र बाहिरिने मुख्य सडक यसै जिल्ला हुँदै जाने भएकाले सवारी दुर्घटना बढी भएका छन् । जिल्लाका अधिकांश भागमा सवारी साधन पुग्ने र सडकको अवस्था राम्रो नभएकाले पनि दुर्घटना बढेका हुन् ।

तपाईको प्रतिक्रिया