राष्ट्रिय हितमा दायाँबायाँ हुन्न : प्रधानमनत्री

  चैत ०६, २०७९

काठमाडौँ, चैत ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हित र प्रक्रियाअनुसार नै अगाडि बढेको र त्यसमा दायाँबायाँ नहुने बताउनुभएको छ । संविधान र नियमानुसार नै सरकार अगाडि बढेको र आफू सोहीअनुसार नै क्रियाशील रहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा उहाँले राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले जटिल र अप्ठ्यारो परिस्थितिमा राज्यबाट उत्पीडित वर्ग, समुदाय र तप्कालाई अधिकार सम्पन्न बनाउन योगदान गरेका राजनीतिक दल र नयाँ राजनीतिक दलको योगदान र पुराना अनुभव तथा नयाँको काम गर्ने तरिकाबीच तालमेल गरेर जान जरुरी रहेको बताउनुभयो ।

आफूहरु एउटा राजनीतिक प्रणालीबाट अर्को प्रणालीमा आएको, राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट सङ्घीयतामा आएको तथ्य पेस गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक शान्ति सम्झौता, संविधान, गणतन्त्रका साथसाथै लोकतन्त्रमा नयाँ खालको अभ्यास गरिएको स्पष्ट पार्नुभयो ।

राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर आफूहरु एक ठाउँमा उभिएको उल्लेख गर्दै उहाँले विचार मिल्ने दलहरुबीच मतैक्य गर्न सकिए विकास र निर्माणको अपेक्षा राखेका जनतालाई केही न केही राहत दिन सकिने लक्ष्यका साथ तत्कालीन नेकपा (एमाले)सँग सहकार्यको हात अगाडि बढाएको बताउनुभयो ।

विकास र समृद्धिका लागि आफूले तत्कालीन एमालेसँग एकता तथा सहकार्यको प्रस्ताव राखेको भए पनि त्यसलाई जोगाउन नसकिएको र तीन वर्ष पनि टिकाउन नसकेको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।

जनता र कार्यकर्ताले आफूहरुबीचको सहकार्य र एकतालाई अनुमोदन गरेको भए पनि हामी नेताहरुकै कारण जोगाउन नसकेको उहाँले बताउनुभयो । “हामी नेताहरुले नै जनता र कार्यकर्ताको भावनालाई सम्मान गर्न सकेनौँ । झन्डै दुई तिहाइ बराबरको जनमत टिकाउन सकेनाँै ।

यसको समीक्षा कसरी र कसले गर्ने हो ?”, प्रधानमन्त्रीले भन्नुभयो, “एकले अर्कोलाई दोषारोपण गरेर, तर्क कुतर्क गरेर सुख पाइँदैन । केन्द्र र प्रदेश सरकार किन गयो ? यसको समीक्षा गर्नुपर्छ कि पर्दैन ?”

देशमा विकासको नयाँ ल्याउने उद्देश्यका साथ आफूहरु एक ठाउँमा उभिएको भए पनि आफ्नै पार्टी र सरकारले संविधानमाथि नै घात हुने गरी गतिविधि गरिएपछि विग्रह पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधान लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशिता र समानुपातिक प्रणाली तथा शान्ति सम्झौताका लागि नेपाली कांग्रेससँग सहकार्य गरेको स्पष्ट पार्नुभयो ।

आफू एमालेसँग खोज्दै प्रधानमन्त्री बन्न नगएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको थिएँ । तपाइँले मलाई एक पटक बनाउनुभयो । मलाई प्रधानमन्त्रीभन्दा पनि लोकतन्त्र, संविधान र शान्ति प्रक्रिया महत्वपूर्ण लाग्छ ।”

प्रधानमन्त्रीले एमालेसँग एजेन्डा नै नमिलेका कारण गठबन्धन परिवर्तन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नमिलेको एजेन्डा नै हो । नमिलेको विचार र राजनीतिक मुद्दा नै हो ।”

सदनमा बहुमत रहँदासम्म पटकपटक विश्वासको मत लिनु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले पूर्णता पाउने बित्तिकै नयाँ गतिका साथ सरकार अगाडि बढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया