चलचित्र चेतना स्वदेशीले बढाए कि विदेशीले ?

  चैत ०५, २०७९

काठमाडौँ, ५ चैत  : अशोक शर्मा नेपाली चलचित्रमा निर्माता, निर्देशक, कलाकार, वितरकलगायतको विधामा काम गर्नुहुन्छ । विसं २०५० को चैत महिनामा उहाँले निर्माण गर्नुभएको चलचित्र ‘ट्रक ड्राइभर’ हिट भएपछि कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुग्नुभयो । पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए ।

गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे । “बेहोस भएर हल बाहिर ल्याएको दर्शक होसमा आउना साथ पुनः चलचित्र हेर्न भित्र पस्थे । स्वास्थ्यभन्दा पनि चलचित्रको चिन्ता थियो”, निर्माता शर्माले स्मरण गर्नुभयो, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई रोल दिने चलन थियो । हामी ५१औँ दिनभन्दा बढी भएपछि दर्शकसँग भेटघाट गथ्र्यौं ।”

काठमाडौँमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करणको ‘हेर्दा हेर्दै कहाँ पुग्यौँ रु’ शीर्षकमा भएको छलफलमा निर्माता शर्माले पुराना दिनलाई स्मरण गर्नुभएको हो । उहाँसँगै छलफल तथा अन्तरक्रियामा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक सुजित विडारी सहभागी हुनुहुन्थ्यो । निर्माता शर्माले डिजिटल प्रविधिमा चलचित्र रूपान्तरण भएपछि ‘जय भोले’ र ‘रातो टीका निधारमा’ निर्माणसँगै निर्देशन गर्नुभयो ।

“पहिले म आफैँ कलाकार बन्ने समयमा एउटा फाइल बोकेर हिँड्थे । त्यसमा मैले अभिनय गरेको नाटकको जानकारी हुन्थ्यो । तर, अहिले आफ्नो क्षमतालाई सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्न सकिन्छ”, निर्माता शर्माले भन्नुभयो, “मैले समेत पछिल्लो दुई चलचित्रमा केही कलाकारलाई सामाजिक सञ्जालकै माध्यमबाट अवसर दिएँ । त्यो समयदेखि यो समयसम्म धेरै फेरिएको छ ।” उहाँले भनेझैँ प्रविधिले सहजता दिए पनि दर्शक भने कम भइरहेका छन् । पचासको दशकमा चलचित्र बन्दा बन्दै लगानी उठेको प्रशस्तै उदाहरण छन् । यद्यपि अहिले वर्षमा मुस्किलले दश चलचित्रले मुनाफा पाउने गरेका छन् ।

‘ऐना झ्यालको पुतली’ मार्फत निर्देशनमा डेब्यु गर्नुभएका निर्देशक विडारीले दर्शकसँग माध्यम धेरै भएको बताउनुभयो । “विश्वभरका चलचित्र हामीले सहजै हेर्न सक्छौँ । यसले दर्शकको चलचित्र चेतनालाई बढाएको छ । त्यो चेतना हाम्रोभन्दा बाहिरको चलचित्रले दिएका कारणले पनि हामीले विश्वसनीयता गुमाइरहेका छौँ”, निर्देशक विडारीले भन्नुभयो, “दर्शकमा आकर्षण कम भएको छैन । यद्यपि हाम्रो मेकिङमा स्तरीयता घट्दो छ ।”

दर्शक अहिले मन परेको चलचित्र पहिले नै आफ्नो विश्वासिलो व्यक्तिले सिफारिस नगरेसम्म हलमा नआउने गरेको अभिनेत्री खड्काले बताउनुभयो । “‘लुट’ पछि त्यस्तै चलचित्र बने । त्यही क्रम ‘कबड्डी’ मा समेत देखियो । पछाडिका चलचित्रमार्फत बारम्बार हामीले दर्शकलाई निराश बनाएका छौँ कि रु यो विषयमा सोच्न जरुरी छ”, अभिनेत्री खड्काले भन्नुभयो, “युट्युबमा नेपाली चलचित्रले पाउने दर्शक हेर्दा छैनन् भन्ने अवस्था नै छैन । तर, ती दर्शकलाई भवनसम्म ल्याउन सकिरहेका छैनौँ । किनकि हामीले उहाँहरूको विश्वास बढाउने चलचित्र दिइरहेका छैनौँ ।”

निर्माता शर्माले सामाजिक सञ्जालमार्फत कलाकार र दर्शकको दूरी कम भएकाले पनि आकर्षण घटेको हुनसक्ने विचार राख्नुभयो । “पचासको दशकमा कलाकार हुन्थे । दर्शकसँग प्रत्यक्षरूपमा ५१औँ दिन वा सोभन्दा बढी समय भएमा मात्र भेट हुन्थ्यो । सम्पर्क हुने अन्य माध्यम नै थिएन”, निर्माता शर्माले भन्नुभयो, “अहिले हाम्रो दिनचर्या र सम्पर्क सामाजिक सञ्जालमार्फत प्रत्यक्ष जोडिएको छ । कलाकारप्रतिको कौतुहलता नै छैन । यसको सकारात्मक पाटो भने आफ्नो कुरा सिधै भन्न सकिन्छ ।”

अभिनेत्री खड्काले भने दर्शकले चलचित्रमा कलाकारभन्दा पनि निर्वाह गरिएको भूमिकाले आकर्षण गर्नुपर्नेमा जोड दिनुभयो । “चलचित्रभित्र कलाकार नभई उसको पात्र देखिनुपर्छ । तर, अपेक्षाभन्दा कम हुँदा विस्तारै हामीले दर्शक गुमाइरहेका छौँ । अब नेपाली चलचित्र भनेर माया गर्नेभन्दा पनि राम्रोलाई हेर्ने क्रम बढ्दै छ”, अभिनेत्री खड्काले भन्नुभयो ।

निर्देशक विडारीले नेपाली दर्शकले कमेडी चलचित्र बढी रुचाइएको पाउनुभयो । “सफलतालाई विश्लेषण गर्ने हो भने कमेडीकै वर्चश्व छ । यद्यपि हामीले त्यतिमै सीमित नभई फरक विधालाई दर्शकसम्म पु¥याउनु नै पर्छ । हाम्रो काम सही मार्गदर्शनको पनि हो”, उहाँले भन्नुभयो । निर्माता शर्माले कलात्मक चलचित्रले विस्तारै बजार बनाइरहेको जानकारी दिनुभयो । उहाँले यादव भट्टराईको निर्देशनमा तयार भएको ‘झोला’ को प्रसङ्ग सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया