रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन

  चैत ०५, २०७९

हुम्ला, ५ चैत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय सिमकोटले रासनकार्डमा अनियमितता गरेको पाइएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ । रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरिएको पाइएपछि छानबिनका लागि समिति गठन गरिएको हो ।

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घको प्रतिनिधि सदस्य रहने छन् ।

सिमकोट गाउँपालिका वडा नं ५ र ६ क्षेत्रमा वितरण गरिएको रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरेको पाइएपछि छानबिन समिति गठन गरिएको शाखा कार्यालयका निमित्त प्रमुख नवीन आचार्यले बताउनुभयो ।

हाल सिमकोट बजारमा आठ सय ४६ रासनकार्ड वितरण गरिएको छ । “एउटै रासनकार्डमा आठदेखि दश जनासम्म परिवार सङ्ख्या उल्लेख गरी खाद्यान्न लिने गरेको पाइएपछि यथार्थ छानबिन गर्न लागिएको हो”, आचार्यले भन्नुभयो, “रासनकार्डमा भएका प्रत्येक सदस्यले अधिकतम पाँच केजी खाद्यान्न पाउने व्यवस्था छ ।”

तपाईको प्रतिक्रिया