अनलाइन मिडिया विश्वसनीय हुनुपर्छ : विज्ञहरु

  फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन : अनलाइन मिडियाले सम्प्रेषण गर्ने विषयवस्तु सत्यतथ्य, विश्वसनीय र भरपर्दो हुनुपर्नेमा विज्ञसरोकारवालाले जोड दिएका छन् ।

अनलाइन मिडियाको तीव्र रुपमा भइरहेको विकाससँगै यसले सम्प्रेषण गर्ने विषयवस्तुबारे समाजमा नकारात्मक धारणा बनिरहेको भन्दै उनीहरुले अनलाइन सञ्चारमाध्यमलाई मुलधारमा ल्याइनुपर्नेमा जोड दिए ।

‘नारी नेपाल अनलाइन पत्रिकाको’ आज उद्घाटन कार्यक्रमका वक्ताले अनलाइनलाई विश्वसनीय बनाएर छिटोछरितो र भरपर्दो सामग्री सम्प्रेषण गरिनुपर्ने औँल्याए ।

सांसद अनिता देवकोटाले अनलाइन मिडियाले पेसागत मर्यादालाई ख्याल गरी भरपर्दो, छिटो र छरितो बनाएर विषयवस्तु दिनसक्नुपर्ने बताउनुभयो । उहाँले नारी नेपाल अनलाइनका माध्यमबाट महिलाको वृत्ति विकास र संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि खबरदारी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले आधुनिक सूचना प्रविधिको युगमा प्रविधिको उच्चतम प्रयोग गर्दै निष्पक्ष र विश्वसनीय पत्रकारिता जरुरी भएको उल्लेख गर्नुभयो । नारी नेपालले चुनौतीका बीच सकारात्मक पहल लिएको भन्दै यसका विषयवस्तुको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन मिडियालाई मूलधारमा ल्याई अनलाइनको वर्गीकरण गर्न काउन्सिलले मापदण्ड बनाइरहेको जानकारी दिनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले अनलाइनको भिडमा नारी नेपाल अनलाइन पत्रिकाले नारीको सङ्घर्ष र सफलतालाई समेटेर अनलाइन सञ्चारमाध्यम सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया