सात महिनामा भित्रियो रू छ खर्ब ८९ अर्ब विप्रेषण

  फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब तीन प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ५७ दशमलब तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १० दशमलब एक प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ६५ दशमलब नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५ दशमलब दुई प्रतिशतले वृद्धि भई रु सात खर्ब ५९ अर्ब ११ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलब सात प्रतिशतले घटेको थियो ।

तपाईको प्रतिक्रिया