होली पर्वमा उपत्यकाको ट्राफिक निगरानीमा कडाइ

  फागुन २२, २०७९

काठमाडौं, फागुन २२ : होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (सोमबार) बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली पर्वको अवसरमा मानिसहरू उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी  सवारीसाधन चलाउने गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्यूरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखानालगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया