गलेश्वर शिवालयमा दर्शन गर्नेको भीड (फोटो फिचर)

  फागुन ०६, २०७९

म्याग्दी, फागुन ६ : म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको छ । महाशिवरात्रीको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो ।

गलेश्वर एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम राहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ ।

गलेश्वर मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई लक्षितगरी विद्यार्थी, शिक्षक, प्रहरी, सामुदायिक प्रहरी, क्लब तथा स्थानीय आमा समुहले सेवा दिँदैआएका छन् । पूजा गर्न आउने भक्तजनलाई लक्षितगरी स्वयंसेवक परिचालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटा विशाल चक्रशीलामाथि अवस्थित यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारैकिनार हिमालय पर्वततर्फ जाँदैगर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिलिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको दस्तावेजमा उल्लेख छ ।

चक्रशीलाको परिधिमा शालिग्राम, शिवलिङ्ग र भगवानको चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छ । पूर्वमा कृष्णगण्डकी, गायत्री मन्दिर, पश्चिम कालञ्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिको तपोभूमि रिखा, धौलगिरि हिमश्रृङ्खला र मुक्तिनाथ, दक्षिण बेनीबजार र म्याग्दी नदी रहेका छन् । बेनीबजारबाट तीन किलोमिटर उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको यो द्वार मुक्तिद्वारको रुपले चिनिन्छ ।

चक्राकार शीलाको उच्च भागमा पातालमा पुगेको पृथ्वीलाई जलमध्येबाट श्री विष्णु भगवानले बराह अवतार लिएर उद्धार गर्नुभएको स्मरण गराउने पानीको स्रोत नभएको सुख्खा याममा पनि पानी नसुक्ने जलबराह कुण्डलाई दैविक चमत्कारको रुपमा दर्शनार्थीले लिनेगरेका छन् । चक्राकार जलबराह कुण्डको दर्शन पूजन, अभिषेक गर्नाले पाप र ताप नाश भई त्रितापबाट मुक्ति मिल्ने विश्वास रहँदैआएको छ । शनिबार पर्वत बागलुङ, काठमाडौं, पोखरा, चितवन, वुटवल भैरवा, धादिङलगायत देशका विभिन्न जिल्लाबाट भक्तजन आएका छन् ।

तपाईको प्रतिक्रिया