सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने

  माघ २२, २०७९

काठमाडौँ, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउनुभएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले रास्वपाको भागमा परेको गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिने भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताउनुभयो ।

सभापति लामिछानेले रास्वपाबाट दाहाल नेतृत्वमा बनेका मन्त्रीहरूबाट पनि आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएको समेत जनाउनुभयो ।

लामिछानेले जनमतअनुसारको सरकारमा सहभागी भएर समझदारीमा काम अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “गृह मन्त्रालयमा बसेर विगतमा हामीले प्रत्येक दिन खटेर १२-१३ वर्ष धाएर पनि काम नबनी बसेको मान्छेलाई १२ मिनेटमा काम सम्पन्न गरेका थियौँ । आगामी दिनमा बोलाए पनि जान्छु । पदको लोभ भएर होइन कामका लागि जान्छु ।”

पूर्वमन्त्री तथा रास्वपाका सभापति लामिछानेले भन्नुभयो, “उपनिर्वाचनबाट निर्वाचित नभई म कहीँ जाँदा पनि जान्नँ । म उपनिर्वाचनमा फेरि जनताको माझमा जान्छु । जनताले जिताएछन् भने म आउँला, जिताएनछन् भने पनि राजनीतिचाहिँ गरिरहन्छु । मलाई कुनै ठाउँमा जानु छैन ।”

तपाईको प्रतिक्रिया