महिलालाई आत्मनिर्भर बनाउन चुरापोते तालिम

  माघ २१, २०७९

दोधारा चाँदनी,माघ २१ : कञ्चनपुरको भीमदत्त नगरपालिकाले लघु उद्यम विकास कार्यक्रमअन्तर्गत महिलालाई चुरापोते र खेलौना बनाउने तालिम सञ्चालन गरेको छ । पालिकाको वडा १६ र १३ का महिलाका लागि संयुक्त रुपमा १५ दिने तालिमको आयोजना गरिएको भीमदत्त नगरपालिका उपप्रमुख निलम जोशी लेखकले बताउनुभयो ।

महिलालाई आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । “यहाँका महिलालाई आय आर्जनसँग जोड्नका लागि तालिम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “तालिमबाट सिकेको सीप व्यवहारमा उतार्न सके महिला आत्मनिर्भर बन्ने विश्वास लिएको छु ।” उहाँले घरमै बसेर पनि गर्न सकिने काम भएकाले तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।

तालिममा वडा १६ र १३ का गरी २८ महिला सहभागी रहेको वडा–१६ का वडाध्यक्ष केशवसिंह विष्टले बताउनुभयो । “१५ दिने तालिममा महिलालाई आत्मनिर्भर र सक्षम बनाउन चुरापोते र खेलौनाको तालिम दिइनेछ”, उहाँले भन्नुभयो, “सीप सिकेर महिला आर्थिक रुपमा सबल होउन भन्ने हाम्रो उद्देश्य हो ।” थोरै लगानीमा राम्रो आम्दानी कमाउनका लागि चुरापोते तालिमले महिलाको आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।

भीमदत्त नगरपालिका महिला तथा बालविकास शाखा प्रमुख कुन्ती लेखकले नगरपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत महिलालाई आर्थिक रुपमा सबल बनाउन तालिमको आयोजना गरेको बताउनुभयो ।

“चुरापोते न्यून लगानीमा बनाउन र गाउँघरमै बिक्री वितरण गर्न सजिलो हुन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय यसको माग पनि बढेको छ ।”

तपाईको प्रतिक्रिया