स्वदेशी उत्पादनको प्रवर्द्धनबाटै आर्थिक समृद्धि सम्भव : मुख्यमन्त्री अधिकारी

  माघ २१, २०७९

पर्वत, माघ २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारमा सञ्चालित साताँै पर्वत महोत्सवको समापनका अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले आयातित वस्तुको बिक्री वितरणले मुलुक समृद्ध हुन नसक्ने बताउँदै गण्डकी प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिने बताउनुभएको छ ।

उहाँले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि, लघुउद्यम तथा वनजन्य उद्योगबाट उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि प्रदेशले विशेष योजना बनाउने बताउनुभयो ।

अहिले आर्थिक सङ्कटले चौतर्फी क्षेत्र समस्यामा परेको बताउँदै उहाँले फजुल खर्च रोकेर मितव्ययीता अपनाउन निजी क्षेत्रलाई सचेत गराउनुभयो । आफूले मन्त्रालयको सङ्ख्या घटाएर खर्च कम गर्न थालेको बताउँदै उद्योग, पर्यटन तथा कृषि क्षेत्रको विकास र विस्तारबाट समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

उहाँ मेला-महोत्सवमा विदेशी वस्तुको व्यापारलाई भन्दा स्थानीय उद्यमी तथा कृषकले उत्पादन गरेका वस्तुको व्यापारलाई जोड दिनसमेत उहाँले आग्रह गर्नुभयो । महोत्सव माघ ११ देखि सुरु भएको थियो । महोत्सवमा आयोजित सबै प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री अधिकारीबाट पुरस्कार वितरण गरिएको थियो । महोत्सवमा झण्डै रू पाँच करोडको कारोबार भएको आयोजकको अनुमान छ ।

तपाईको प्रतिक्रिया