प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गालाई

  माघ २१, २०७९

किमाथाङ्का, माघ २१ : सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भएको १ नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको भलिबल टोलीले जितेको छ ।

खाँदबारीमा आज भएको फाइनलमा भोजपुर भलिबल टोलीलाई ३–१ को सेटमा हराउँदै ओखलढुङ्गाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टीम तेस्रो र पाँचथर भलिबल टीम चौथो भएका छन् ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुङ्गाका समीप श्रेष्ठ भए । बेस्ट स्पाइकर ओखलढुङ्गाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सरभर बालकुमार रायमाझी भए ।

विजयी ओखलढुङ्गाले नगद रू एक लाख ११ हजार र दुई सय १० तोलको चाँदीको शिल्ड प्राप्त गरेको छ भने उपविजेता भोजपुरले रू ५५ हजार नगद प्राप्त गरेको छ ।

प्रतियोगितामा १ नम्बर प्रदेशका १३ जिल्लाका टीम सहभागी थिए । विजयी टीमलाई भलिबल सङ्घका केन्द्रीय महासचिव रोशन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता विसं २०५८ बाट जिल्लास्तरीय, विसं २०७१ बाट पूर्वाअञ्चलस्तरीय हुँदै विसं २०७४ बाट प्रदेश–१ स्तरीय भएको थियो ।

तपाईको प्रतिक्रिया