भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा

  माघ २१, २०७९

रुकुम, माघ २१ : रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुनुहन्छ । उहाँ जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुग्नुभएको छ । बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्नुहुन्छ ।

भेडाको उनबाट राम्रो आम्दानी गर्दै आउनुभएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । उहाँसँग भोटे कुकुर छन् र भोटे कुकुरको माग निकै छ । बुढाले भेडा रक्षाका लागि भोटे कुकुर पाल्नुभएको छ । यही कुकुरमध्ये उहाँसँग दुईवटा माउ कुकुर पनि छन् । ती माउ कुकुरले वर्षमा १० वटा छाउरा जन्माउँछन् । कुकुरका छाउरा बेचेर उहाँले राम्रो आम्दानी गर्नुहुन्छ । एउटा कुकुरको छाउराको मूल्य रू १० देखि २० हजारसम्म पर्छ ।

“भोटे कुकुरका छाउराको माग निकै छ । काठमाडाँै, पोखरालगायत सहरबाट माग आउँछ, माग पूरा गर्न सकिन्न”, उहाँले भन्नुभयो, “अहिले माग धान्नै गाह्रो भइसकेको छ ।” उहाँले सबै कुकुरका छाउरा÷छाउरी रू १० हजारमा बिक्री गर्नुभएको छ ।

अर्का भेडा गोठाला अकविर पुनमगरसँग पनि भोटे कुकुरका छाउरा थिए । राम्रोसँग हुर्किएका छाउरा रू २० हजारसम्म बिक्री गरेको उहाँको भनाइ छ । उहाँसँग भएका छ वटा छाउरा रू १० हजारदेखि रू २० हजारसम्म बिक्री गरेको उहाँले सुनाउनुभयो ।

“एउटा माउ कुकुरले दुईदेखि पाँचवटासम्म बच्चा जन्माउँछ”, उहाँले भन्नुभयो, “बिक्रीमा कुनै समस्या छैन, भाउ पनि बर्सेनि बढिरहेको छ, हिमाली भेगका भेडीखर्कहरूमा पशु–चौपाया र घरको रक्षा गर्न कुकुरपालन अनिवार्य जस्तै छ ।”

ठूलो ज्यान गरेको भोटे कुकुरको स्वभाव अन्य कुकुरभन्दा फरक हुन्छ । दिनभर सुत्ने भोटेकुकुर रातभर घरको सुरक्षामा गर्छ । रुकुमपूर्वको माथिल्लो भेगका अधिकांशले पाल्ने भोटे कुकुर पछिल्लो समय सबैतिर पालिन थालिएको छ ।

तपाईको प्रतिक्रिया