रूसी इन्धनको मूल्य नियन्त्रणबारे सहमति खोज्ने ईयूको प्रयास

  माघ २०, २०७९

ब्रसेल्स, माघ २० : युरोपेली सङ्घ (ईय) का सदस्य राष्ट्रहरूले रूसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि शुक्रबार एक सम्झौताका लागि पहल थालेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय प्रयासको पछिल्लो हिस्साका रुपमा यो कदम चालिएको हो ।

ईयूले गत डिसेम्बरमा समुद्री मार्गबाट आउने रूसी कच्चा तेललाई प्रतिबन्ध लगाएको थियो र जी–७ का साझेदारसँग मिलेर विश्वभर निर्यातका लागि प्रतिब्यारेल ६० डलरको सीमा तोकेको थियो ।

अब पेट्रोल, डिजेल र इन्धनजस्ता रूसी प्रशोधित तेल उत्पादनहरूलाई लक्षित गरी ईयूमा दोस्रो प्रतिबन्ध आइतबारदेखि लागू हुने भएको छ । त्यस्तै, ईयू र जी–७ समूहले पनि ती उत्पादनको विश्व बजारमा रूसी ढुवानीमा मूल्य सीमा तोक्न सहमत भएका छन् ।

इयूले डिजेलजस्ता महँगा उत्पादनमा प्रतिब्यारेल १०० डलर र इन्धन तेलजस्ता सस्तो उत्पादनमा ४५ अमेरिकी डलरको सीमा तोक्ने आफ्नो कार्यकारी निकायको प्रस्तावलाई भने अस्वीकार गरेको छ ।

कूटनीतिज्ञहरूका अनुसार पोल्याण्ड र बाल्टिक राष्ट्रहरू, जसले रूसको प्रतिबन्धहरूमा ईयूमा सबैभन्दा कडा अडान लिएका छन्, मस्कोको आयलाई थप नियन्त्रण गर्न मूल्य घटाउन दबाब दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया