आइसीटिको प्रयोगसँगै जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : मुख्यसचिव वैरागी

  माघ २०, २०७९

काठमाडौँ, माघ २० : सरकारका मुख्यसचिव शङ्करदास वैरागीले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को योजना पूरा गर्ने गरी काम भइरहेको बताउनुभएको छ । सरकारले योजना पूरा गर्ने गरी काम गरे पनि तथ्याङ्क व्यवस्थापन, एकीकृत सूचना प्रणाली र सूचना प्रणालीको सुरक्षालगायत केही चुनौती रहेको उहाँको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र तराई विकास तथा सञ्चार केन्द्रले संयुक्तरूपमा आज आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक अन्तत्र्रिmयामा मुख्यसचिव वैरागीले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्दै आम जनतालाई केन्द्रमा राखेर काम गर्न सबैमा अनुरोध गर्नुभयो ।

‘डिजिटल नेपाल’ अवधारणा लागू गर्ने गरी सूचना तथा प्रसारण विभागका सम्पूर्ण सेवा अनलाइनबाटै प्रदान गरिँदै आएको छ । सूचना तथा सञ्चार क्षेत्रको समग्र विकासका लागि नीतिगत, कानूनी र संरचनात्मक सुधारलाई सरकारले निरन्तरता दिएको छ ।

सोही अवसरमा अर्थमन्त्रालयका सचिव तोयम रायाले सूचना, सञ्चार प्रविधिको विकाससँगै जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पन्धौँ आवधिक योजनाले ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई रूपान्तरणकारी आयोजनाका रूपमा लिएको छ । सो रूपान्तरणकारी आयोजनाअन्तर्गत फ्रेमवर्कले यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र कृषि गरी विभिन्न आठ क्षेत्र र ८० वटा क्रियाकलाप तय गरेको थियो । ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ कार्यान्वयनको चरणमा रहेको छ ।

राजधानी दैनिकका सम्पादक सागर पण्डितले सुशासनको निम्ति सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सूचना महामार्ग निर्माणकार्य भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया