भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसकिने

  माघ २०, २०७९

काठमाडौँ, माघ २० : भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसक्नेमा सरोकार भएकाले जोड दिएका छन् ।

नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपालले आज यहाँ संयुक्तरूपमा आयोजना गरेको सर्वोच्च बार एसोसियसनमा निर्वाचित पदाधिकारी एवं सदस्यको स्वागत तथा रचना पाठ कार्यक्रममा साहित्यिक सृजनाले कानून व्यवसायीलाई पोख्त बनाउने बताएका हुन् ।

कार्यक्रममा नेपालबार एसोसियसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले भाषा, साहित्य बचाउन वकिल पनि लाग्नुपर्ने बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशमा अशुद्ध शब्द आएपछि बार पनि आन्दोलनमा उत्रिएर शब्द सच्याउन लगाएको घटना स्मरण गर्दै उहाँले कानून व्यवसायीकै कारण अशुद्ध शब्द हटेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता हरि उप्रेतीले साहित्यकार दीर्घजीवी र स्वस्थ हुने बताउनुभयो । मनमा आएका तनावलाई साहित्यकारले सृजनामार्फत अभिव्यक्त गरेर हाँसेर जीवनयापन गर्न सक्ने उहाँको भनाइ थियो ।

नवनिर्वाचित सर्वोच्च बारका अध्यक्ष गुणनिधि न्यौपानेले नैतिकता, उच्चमनोबल र इमान्दारीका लागि पनि भाषा, साहित्यको आवश्यकता पर्ने बताउनुभयो । सर्वोच्च बारका नवनिर्वाचित सदस्य रामेश्वर राउत मातृदासले इम्बोस्ड नं प्लेटमा भाषिक अत्याचार भएकाले यस विरुद्ध सबै कानून व्यवसायी लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा साहित्यकार घमा भट्टराई, रामकृष्ण काफ्ले, तुलसीराम पोखरेल, ठाकुराराज आचार्य, रामेश्वर राउत मातृदासलगायतले आ–आफ्ना रचना पाठ गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया