गण्डकी प्रदेश सरकार स्थापनामा प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल

  माघ २०, २०७९

कास्की, माघ २० : गण्डकी प्रदेश सरकारको स्थापना दिवस पारेर पोखरामा प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रदेश सरकार मातहतको प्रदेश खेलकुद परिषद््ले सरकार स्थापनाका अवसर पारेर फागुन १ देखि ३ गतेसम्म मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल गर्ने निर्णय गरेको हो ।

विसं २०७४ फागुन २ गते पहिलोपटक प्रदेश सरकार गठनको दिनलाई प्रदेश सरकारको स्थापना दिवसका रूपमा विविध कार्यक्रम गरी मनाइँदै आएको छ ।

सरकारको स्थापना दिवस पारेर प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता गर्ने निर्णय प्रदेश खेलकुद परिषद्को आजको कार्यकारी समितिको बैठकले गरेको सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट सहभागिता गराउने योजना छ । भलिबल खेलको विकास र विस्तार गरी नयाँ खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउ पुग्ने विश्वास आयोजकको छ ।

पौडेलले भन्नुभयो, “राष्ट्रिय खेल भलिबल भएका कारणले पनि हामीले प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौँ । यो प्रतियोगिताले खेलाडी उत्पादनसँगै प्रदेशका उत्कृष्ट खेलाडीको छनोटमा सघाउ पुग्नेछ ।”

प्रतियोगिताको तयारीका लागि बैठकले परिषद्का सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा पाँच सदस्सीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

सो समितिमा प्रदेश खेलकुदका सदस्य विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीन गुरुङ र महासचिव तहलसिंह थापा मगर रहनुभएको छ ।

प्रतियोगिता संयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता गराउने जानकारी दिँदै प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने महिला तथा पुरुष टिमलाई क्रमशः नगद रु एक लाख ५० हजार, रु एक लाख र रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही नगद रु २० हजार तथा विधागतरूपमा उत्कृष्ट पाँच विधाका महिला तथा पुरुष खेलाडीले जनही रु १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया