गलत समाचार लेखेर समाजमा भ्रम नफैलाउन रेग्मीको आग्रह

  माघ २०, २०७९

काठमाडौँ, माघ २० : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गलत समाचार लेखेर समाजमा भ्रम फैलाउन नहुने बताउनुभएको छ । न्यूज लाइन्स डटकम अनलाइन मिडियाको सातौँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

“संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा राखेको छ, सही सूचना सम्प्रेषण गरेर समाजप्रति उत्तरदायी बन्नुपर्छ, राज्य र नागरिकको सेतुको काममा सञ्चार माध्यमले भूमिका खेलेको छ”, पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो । मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । समुन्नत मुलुक निर्माणका लागि पर्यटन क्षेत्रको उल्लेख भूमिका रहेको जिकिर गर्दै पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन प्रवद्र्धन गर्नसके आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रलाई जर्गेना गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “प्रेस स्वतन्त्रता नभएको मुलुकमा लोकतन्त्र बलियो हुन सक्दैन, सञ्चारमाध्यम आवाज विहीनको आवाज बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

सञ्चारमाध्यम शक्ति र सत्ताको पछि नलागी सत्यको पछि लाग्नुपर्नेमा नेता केसीले जोड दिनुभयो । उहाँले मुलुकको आर्थिक अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै मुलुकको अफ्ठ्यारो परिस्थितिको सन्तुलन मिलाउन कांग्रेसले राष्ट्रपति दाबी गरेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले मुलुकको आर्थिक विकासमा कृषि, जलविद्युत् र पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) का पूर्वअध्यक्ष खुमबहादुर सुवेदीले मुलुकको आर्थिक उपार्जनको महत्वपूर्ण क्षेत्र पर्यटन भएकाले यसको विकासमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो ।

न्यूज लाइन्स मिडिया प्रालिकी अध्यक्ष रिता ढकाल भट्ट, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ता राजकुमार थापालगायतले नेपालमा भएका पर्यटकीय गन्तव्यस्थललाई विश्वमाझ चिनाउन नेपाली सञ्चार माध्यमको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

सो अवसरमा साउथ वेष्टर्न स्टेट कलेज बसुन्धराका सह प्राचार्य हरिसिंह केसी, अधिवक्ता सुस्मा लोहनी, काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष भरतप्रसाद सापकोटा, पर्यटन व्यवसायी गणेश श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया