इटालीमा आठ आप्रबासीको शव फेला

  माघ २०, २०७९

रोम, माघ २० : इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र तीन महिलाको शव फेला पारेका थिए । डुङ्गामा रहेका अन्य ४२ जनालाई किनारामा ल्याइएको उहाँले एएफपीलाई बताउनुभयो ।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले आगामी साता हुने युरोपेली परिषद्को शिखर सम्मेलनअघि डुङ्गाबाट यूरोप पुगेका आप्रवासीको व्यवस्थापनमा युरोपेली सङ्घबाट थप सहयोगको माग गर्ने बताउनुभएको छ ।

इटालीको भौगोलिक स्थितिले यसलाई उत्तरी अफ्रिकाबाट युरोप जाने र शरण खोज्नेहरूको लागि एक प्रमुख गन्तव्य बनाउँछ, र रोमले लामो समयदेखि आगमनको सङ्ख्यामा भएको वृद्धिबारेमा गुनासो गर्दै आएको छ ।

मन्निनोले आफू छ महिनादेखि मात्र नगरप्रमुख भएको तर आप्रवासीको आगमन निरन्तर भइरहेको र मृत्यु भएकाहरूको शव साप्ताहिक रूपमा टापुमा ल्याइने गरेको बताउनुभयो ।

“स्थिति वास्तवमै नाटकीय बन्दै गएको छ । युरोप र यहाँका सरकारहरूले केही गर्नुपर्छ । मलाई मृतकको सङ्ख्याको गणनाले स्तब्ध पार्नेगरेको छ,” उहाँले भन्नुभयो ।

गृह मन्त्रालयका अनुसार यो वर्षको सुरुदेखि अहिलेसम्म करिब पाँच हजार आप्रवासी इटाली आइपुगेका छन्, जुन गत वर्षको सोही अवधिमा तीन हजार र सन् २०२१ मा एक हजार भन्दा बढी थियो ।

मेलोनीले शुक्रबार बर्लिन र स्टकहोमको भ्रमण गर्नुभएको छ । उहाँले आप्रवासीहरूको प्रत्यावर्तन र पुनः प्रवेशलाई बढावा दिन ईयू संयन्त्रहरूको लागि शिखर सम्मेलनअघि समर्थन जुटाउने प्रयास गर्नुभएको थियो ।

उनको नयाँ दक्षिणपन्थी सरकारले आप्रवासीहरूको उद्धार गर्ने परोपकारी जहाजहरूको कार्यलाई सीमित गर्न खोजेको छ, गत हप्ता युरोपेली परिषद्बाट आप्रबासी नीतिले जीवनलाई खतरामा पार्नेछ भनी आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया