गञ्जागोल तारले जोखिम बढ्यो

  माघ १९, २०७९

सहजपुर, माघ १९ : कैलालीको अत्तरिया बजारमा जथाभावी राखिएका तारका कारण जोखिम बढेको छ । बजारमा राखिएका विद्युतीय पोलमा जथाभावी राखिएका तारका कारण आगलागीलगायतका विभिन्न जोखिम बढेको हो ।

नेपाल टेलिकमले फाइबर तार जडानका लागि हालेका पोलमा अहिले अन्य इन्टरनेट प्रदायक कम्पनीले आफ्ना तार राखेका छन् । व्यवसायी महेश ओझाले टेलिकमको पोलमा रहेका तारका कारण व्यवसाय सञ्चालनमा समस्या बढ्न थालेको बताउनुभयो ।

उहाँले एक ठाउँमा घटना घटे त्यो पूरै सहरभरि नै फैलन सक्ने गरी तार जडान भएका कारण थप जोखिम रहेको बताउनुभयो । “सम्बन्धित निकायले व्यवस्थापन गरिदिए राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “पसलकै अगाडितिर लट्किएको अवस्थामा तार रहेका छन्, त्यसले व्यवसाय गर्न झन् समस्या हुने गरेको छ ।”

उहाँले गुच्छाजस्तो रूपमा तार एकै ठाउँमा रहेकाले आगलागीको चिन्ताले सताउने गरेको बताउनुभयो । “मैले करिब २० वर्षदेखि यो ठाउँमा व्यापार गर्दै आएको छु, पहिला यस्ता तार थिएनन्”, उहाँले भन्नुभयो, “अहिले विभिन्न नेटका कारण तार बढेका छन्, त्यसकारण कतै अप्रिय घटना घटिहाल्छ कि भन्ने चिन्ताले सताइरहन्छ ।”

अर्का व्यवसायी डम्बर खड्काले पोलमा रहेका तार व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । “व्यवसाय नै सञ्चालन गर्न नपाइने भन्ने होइन, तर नभएका पोलमा मिलाएर राख्ने गरी तार राखेको भए राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो । उहाँले बजारको सुन्दरता पनि रहने, व्यवसाय पनि गर्न सकिने र दुर्घटना हुनबाट पनि बच्न सकिने तरिकाले तारको व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।

गत वर्षमात्रै अत्तरियाचोक नजिकै रहेको एउटा पोलमा आगलागी भएको थियो । पुस महिनामा भएको आगलागीबाट पोलमा भएका तार सबै जलेर नष्ट हुँदा बजारका विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । समयमै जानकारी पाइँदा आगालागीले ठूलो रूप लिन नसके पनि एक किसिमको चिन्ता भने पैदा गरेको व्यवसायी लीलाराम सापकोटाले बताउनुभयो ।

“सबै सम्बन्धित निकायलाई व्यक्तिगत भेटेरै जानकारी गराइसकेको छु”, उहाँले भन्नुभयो । उहाँले जानकारी गराएका सबैले केही समयपछि अन्डरग्राउण्ड तार राखिने बताएको भए पनि कहिलेसम्म राख्ने भन्ने निश्चित नभएको बताउनुभयो ।

पहाडरोडस्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयको छेवैमा त झन् उक्त तारले सडक किनार नै छोएको छ । विद्यार्थीको अधिकतम चाप हुने उक्त स्थानमा रहेका तारले कुन दिन अप्रिय घटना घट्छ भन्ने चिन्तामा विद्यालय प्रशासन छ ।

विद्यालयका अध्यक्ष गणेश शाहले तारका कारण विद्यालयको बसलाई आवतजावतमा समस्या भइरहेको बताउनुभयो । उहाँले तार व्यवस्थापनका लागि नेपाल टेलिकमसँग आग्रह गर्दा टेलिकमले आफ्नो तार व्यवस्थापन गरे पनि अन्य इन्टरनेट प्रदायक कम्पनीले भने अटेरी गरेको बताउनुभयो ।

नेपाल टेलिकमका अत्तरिया इन्चार्ज भजनसिंह चौधरीले टेलिकमले प्रयोग गरेसम्म प्रयोग गर्न पाउने गरी इन्टरनेट प्रदायक कम्पनीसँग सम्झौता भएको बताउनुभयो । उहाँले आफूहरूले विद्युत् प्राधिकरणको पोलमा टेलिकमको फाइबर तार जडानकार्य गरिरहेकाले उक्त पोलहरूको उत्तरदायित्व आफूहरूको नभएको बताउनुभयो ।

“हामीले त्यस्ता कम्पनीसँग हाम्रो टेलिकमले प्रयोग गर्ने अवधिसम्मका लागि मात्रै भनेर सम्झौता गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले हामीले विद्युत् प्राधिकरणलाई निश्चित कर बुझाउने गरी विद्युत्का पोलमा तार जडान गरिरहेका छौँ, पुराना पोलबाट हामीले हटाउने काम गरिरहेका छौँ ।”

उहाँले पुराना पोलका केही स्थानमा भने अझै पनि टेलिकमको तार रहेको र उक्त तार हटाउनका लागि बोलपत्र आह्वान गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । चौधरीले सम्झौताअनुसार टेलिकमले प्रयोग गर्न छाडिसकेपछि स्वतः इन्टरनेट प्रदायक कम्पनीसँगको सम्झौता खारेज हुने बताउनुभयो । उहाँले त्यस्ता इन्टरनेट प्रदायक कम्पनीसँग प्रयोग गरिएका पोलका आधारमा शुल्क लिने गरेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया