कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा र निर्यात

  माघ १८, २०७९

जाजरकोट, माघ १८ : कृषि क्षेत्रमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ ।

आयतित वस्तुलाई भन्दा आफ्नै उत्पादनमा जोड दिएर कृषिजन्य वस्तु उत्पादन गरी निर्यात गर्ने उद्देश्यले विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । नगरभित्रबाट मह, लसुन, मकैलगायत वस्तु जिल्ला बाहिर बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले मौरीपालन पकेट क्षेत्रका रूपमा वडा नं १, २ र ४ लाई लिएको छ । सुन्तला पकेट क्षेत्रका रुपमा वडा नं ३, अलैँचीका लागि वडा नं ३, लसुनका लागि ९, १० र ११ वडालाई पकेट क्षेत्रका रूपमा लिइएको छ ।

त्यस्तै धानका लागि वडा नं ७ र ८, मकैका लागि वडा नं ५, आलुका लागि ३ र ६ नं वडालाई पकेट क्षेत्रकारूपमा लिइएको छ । कागतीका लागि वडा नं ५, फलफूलका लागि वडा नं १३, तरकारी का लागि २, ४, ५, ७ र ८ नं वडालाई पकेट क्षेत्रका लिइएको छ ।

क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत छ हेक्टर जमिनमा हिउँदे आलु, १० हेक्टर जमिनमा उन्नतजातको गहुँको बीउ उत्पादन, एक सय ९० हेक्टरमा उन्ततजातको तोरीको बीउ उत्पादन गरिएको छ ।

त्यस्तै छ हेक्टर जमिनमा प्याजको उन्तत बीउ, १० हेक्टर जमिनमा लसुनको बीउ लगाइएको छ । त्यस्तै नलगाड नगरपालिका वडा नं ७ मा छ हेक्टरमा गहुँको मूलबीउ उत्पादन भइरहेको छ ।

त्यस्तै वडा नं ४ को ४० हेक्टर जमिनमा तोरीको मूलबीउ उत्पादन भइरहेको कृषि शाखाका बालकृष्ण आचार्यले बताउनुभयो । प्याज, रायो र मुलाको उन्नत बीउसमेत वडा नं ५ को रानीखेतमा उत्पादन भइरहेको छ । स्थानीय सरकार सञ्चालन भएपछि कृषिमा लगानी बढाएसँगै यहाँ उत्पादन दरसमेत बढेको प्रशासकीय अधिकृत गिरीले उल्लेख गर्नुभयो ।

नलगाडको उत्पादन सुर्खेत, नेपालगञ्ज र काठमाडौँसम्म बिक्री हुने गरेको छ । सिँचाइयोग्य भू–भागमा सिँचाइ सुविधा, कृषिमा यान्त्रिकीकरण र उपयुक्त समयमा मल उपलब्ध गराइएको उहाँको भनाइ थियो ।

भेरी करिडोरसँग अधिकांश भू–भाग जोडिएका कारण यहाँ उत्पादन भएको खाद्य सामग्री बाहिर लैजानसमेत सजिलो भएको छ । त्यस्तै नलगाड जलविद्युत् आयोजनाले निर्माण गरेको सडकसमेत यही पर्दछ ।

पालिकाको सबै वडामा यातायात सेवा पुगेको छ । अब नलगाड आयातमात्र होइन, निर्यात गर्ने पालिकाको रूपमा पुगेको छ । अघिल्लो वर्षमात्र यहाँको प्याज, लसुन जिल्ला बाहिरबिक्री भएको थियो ।

त्यस्तै सङ्घीय सरकार तथा प्रदेश सरकारको साझेदारीमा समेत कृषि क्षेत्रमा लगानी बढाइएको र सिँचाइको योजना थप गरिएको छ । उक्त नगरपालिकाको कूल ३८ हजार सात सय ४४ हेक्टर जमिनमध्ये तीन हजार चार सय ४० खेतीयोग्य जमिन रहेकामा २७ सय ५६ हेक्टरमा खेती गरिएको छ ।

तेइसवटा महिला कृषक समूह सक्रिय भएर काममा लागेको नगरपालिकाले जनाएको छ । त्यस्तै दुईवटा पुरुष कृषक समूहले पनि काम गरिरहेका छन् । नगरपालिकामा एक सय ६३ मिश्रित कृषक समूह रहेका अधिकृत गिरीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६-७७ मा १३ टन, २०७७-७८ मा १४ टन, २०७८-७९ मा तीन दशमलव २२ टन मह उत्पादन भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आव २०७६-७७ मा ३५ टन, २०७७-७८ मा ३५ टन, २०७८-७९ मा २५ टन सुन्तला उत्पादन भएको थियो । आव २०७६-७७ मा ८० टन, २०७७-७८ मा एक सय टन, २०७८-७९ मा एक सय ५० टन लसुन उत्पादन भएको थियो ।

तपाईको प्रतिक्रिया