मुगुमा न्यून खाद्यान्न उत्पादन, उत्पादनले चार महिना मात्र धान्छ

  माघ १७, २०७९

मुगु, माघ १७ : मुगुमा ९० प्रतिशत नागरिक कृषिमा आश्रित रहेपनि न्यून मात्रामा खाद्यान्न उत्पादन हुने गरेको छ । मुगुका बासिन्दा परम्परागत कृषि पेसामा निर्भर छन् । जिल्लामा उत्पादन भएको अन्नले चार महिना खान पनि मुश्किलले पुग्ने अवस्था छ ।

छायानाथ रारा नगरपालिका–५ का हरिबहादुर बुढा बाली लगाए वर्षको एक पटक मात्र उत्पादन हुने बताउनुहुन्छ । “एक बालीले कृषकलाई पर्याप्त अन्न पुग्दैन ।

बारीको उत्पादनले चार-पाँच महिनासम्म खाना पुग्छ, परिवार पाल्न धौधो पर्छ”, उहाँले भन्नुभयो । सात महिनाभन्दा बढी समय बजारको चामल खरिद गरेर खानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

पर्याप्त पौष्टिक आहारको कमीका कारण ३० वर्षकै कलिलो उमेरमा अधिकांश युवाका मुहारमा चाउरीपन देखिन्छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा १६ हजार एक सय ६५ हेक्टर खेतीयोग्य जमिन छ । हाल कृषकले ११ हजार चार सय ६१ हेक्टरमा खेती गरिरहेका छन् । छ हजार आठ सय ७६ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ ।

प्रमुख बाली कोदो चार हजार चार सय ८० हेक्टरमा, धान चार हजार दुई सय ७७ हेक्टरमा, गहुँ एक हजार आठ सय ५० हेक्टरमा र मकै एक हजार दुई सय २२ हेक्टरमा लगाउने गरेको तथ्याङ्क न्छ ।

धान तीन हजार आठ सय ८३ मेट्रिकटन, कोदो दुई हजार छ सय २२ मेट्रिकटन, मकै एक हजार आठ सय ५२ मेट्रिकटन, गहुँ एक हजार चार सय २५ मेट्रिकटन, जौ सात सय ३७ मेट्रिकटन र फापर दुई सय २८ मेट्रिकटन उत्पादन हुने गरेको जिल्ला कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उद्योग वाणिज्य सङ्घका अनुसार हरेक वर्ष गमगढी बजारमा झण्डै सात हजार क्विन्टल चामल खरिद बिक्री हुने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय गमगढीबाट आर्थिक वर्ष २०७७-७८ मा आठ हजार १४६ क्विन्टल र आव २०७८-७९ मा १८ हजार तीन सय २२ क्विन्टल चामल बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया