आवश्यकता ‘डिजिटल हेल्थ’को

  माघ १७, २०७९

सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन् ।

आज यहाँ आयोजित ‘नेपालमा डिजिटल हेल्थ कार्यान्वयनको सम्भावना र चुनौती’का विषयक अन्तरक्रियामा सहभागी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले तथ्याङ्क व्यवस्थापनमा एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताउनुभयो ।

“हामीसँग जति पनि ज्ञान, सीप, प्रविधि तथा तथ्याङ्क छन् त्यसलाई राज्यले खोजेर एकीकृत गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “साथमा तथ्याङ्कको स्रोत, सुरक्षा र विश्वसनीयतामा ध्यान दिनु जरुरी छ ।”

उहाँले कोभिडको समयमा ठूलो समस्या परेका अनुभव सुनाउँदै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । कुनै पनि चिकित्सकसँग बिरामीको अभिलेख नरहेको, रोगको उपचारको खास प्रोटोकल नभएको उल्लेख गर्दै इलेक्ट्रिोनिक रेकर्ड जरुरी भएको उहाँको धारणा छ ।

विकसित मुलुकमा बिरामीको सबै विवरण डिजिटलाइज हुने भन्दै जुनसुकै अस्पताल गए पनि विगतको जानकारी लिन सजिलो हुने उहाँको भनाइ छ । चिकित्सकको सिफारिसका साथै औषधिको जानकारी समेत फार्मेसीसम्म पुग्ने भएकाले बिरामीले सोही आधारमा सेवा लिएरहेको उहाँको भनाइ छ ।

सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले बेलायत तथा अष्ट्रेलियमा आफूले प्राप्त गरेको अनुभव सुनाउँदै भन्नुभयो, “प्रणालीबाट एक क्लिकमा स्वास्थ्यका सबै जानकारी प्राप्त हुनसक्छ, अब त्यो अभ्यास नेपालमा किन नगर्ने ?

सांसद रामहरि खतिवडाले डिजिटल हेल्थ लागू भए धेरै सहज हुने बताउनुभयो । लामो समय चिकित्सा सेवा दिनुभएका सांसद डा चन्दा कार्कीले डिजिटल हेल्थका विषयमा राज्यले गम्भीरताका साथ नीति नियम बनाउनुपर्ने बताउनुभयो । विगतमा शिक्षण अस्पतालमा ‘हेल्थ नेट’ सुरु गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया