साँझसम्म गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट बाहिरिने,सरकारी निवास पनि आजै छाड्ने

  माघ १७, २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने चेतावनी दिनुभएको हो ।

रवि लामिछाने निकट स्रोतका अनुसार साँझसम्म प्रधानमन्त्रीे प्रचण्डले रवि लामिछानेलाई गृह मन्त्रालय दिने निर्णय नगरे सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो । प्रधानमन्त्रीले साँझसम्म निर्णय नलिए सरकारी निवास पनि आजै छाड्ने तयारी रेहेको स्रोतले बतायो ।

२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वंशजको नागरिकता निकाल्नुभएका लामिछाने रोजगारीको सिलसिलामा अमेरिका पुग्नुभएको थियो । त्यसपछि २०७० फागुन ९ मा अमेरिकी नागरिकता र फागुन २१ मा राहदानी प्राप्त गर्नुभएको थियो । उहाँले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाल नागरिकता ऐनअनुसार उहाँको नेपाली नागरिकता कायम रहेको थिएन ।

गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उहाँसँग नेपाली नागरिकता नभएको भन्दै उहाँको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेशमार्फत् लामिछानेलाई सांसद्का रूपमा कामकाजमा रोक लगाउन माग गरिएको सन्दर्भमा पुस २२ गते शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

त्यसदिन सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको थियो । माघ ११ गतेदेखि यस मुद्दाको संवैधानिक इजलासमा भएको बहसपछि शुक्रबार इजलासले नागरिकता अबैध ठहर गर्दै आदेश दिएको हो ।

लामिछानेलाई सर्वोच्चले अनागरिक ठहर गरेसँगै उहाँले आइतबार जिल्ला प्रशासन कार्यलय पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद हुनुहुन्छ ।

​​​​​​​

तपाईको प्रतिक्रिया