गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

  माघ १६, २०७९

मोरङ, माघ १६ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्ताह–२०७९ को समापन गर्दै उहाँले शिक्षा क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी निजी क्षेत्रले विद्यालयहरू सञ्चालनका लागि गरेको उल्लेख गर्नुभयो ।

सङ्घीयतालाई स्थापित गर्ने दायित्व हामी सबै काँधमा आएको बताउँदै उहाँले प्रदेश संरचनाको सम्बन्धमा उठेका विभिन्न क्षेत्र एवं व्यक्ति गर्ने आलोचनालाई चिर्न सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेको छ भन्दै यसका लागि आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गर्नुभयो ।

यही माघ १० देखि १६ गतेसम्म स्थानीय शहीद रङ्गशालामा सञ्चालित खेलकुद सप्ताहमा जिल्लाका २८ वटा विद्यालयका एक हजार सात सय विद्यार्थीहरूले फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस सिङ्गल र डबल, लामो र छोटो दूरीको दौडलगायत प्रतियोगितामा भाग लिएका थिए । सो अवसरमा मुख्यमन्त्री कार्कीले विभिन्न विद्यालयमा अध्ययनरत उत्कृष्ट छात्र, छात्रा र प्राचार्यलाई सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया