अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु

  माघ १६, २०७९

काबुल,माघ १६ : चिसो र कठ्याङ्ग्रिदो जाडाका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ। । खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक चिसाका कारण १६८ जनाको मृत्यु भएको छ ।

विपद् व्यवस्थापन अधिकारी जाहिदले त्यहाँ सयौं घरहरू भत्किएको र करिब ८० हजार गाईवस्तुको मृत्यु भएको बताएका छन् । यसैबीच विपन्न परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक सङ्कट उत्पन्न भएको छ ।

अफगानिस्तानको मौसम पूर्वानुमान अधिकारीहरूले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन् । साथै मानवीय सहयोगको चरम आवश्यकतामा रहेका मानिसहरूको जीवनयापनलाई यो चिसोले थप जटिल बनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको विज्ञप्तिमा बदख्सान, नुरिस्तान, कुनार, नाङ्गरहार, लघमान, कपिसा, पञ्जशिर, परवान, काबुल, लोगर, पक्तिका, जाबुल, गजनी, मैदान वार लगायतका प्रदेशमा आगामी दिनमा भारी हिमपात हुने जनाइएको छ ।

अफगानिस्तानको तीन करोड ८० लाख जनसङ्ख्याको लगभग ५० प्रतिशत जनतालाई सहायता र यस शीतकालीन समयमा थप सहयोगको खाँचो छ । यसैगरी मुलुकमा झण्डै ४० लाख बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको पनि बताइएको छ ।

टोलो समाचारले तापमानमा आएको अचानक गिरावटले समस्याग्रस्त देशमा थप गरिबी तर्फ धकेल्दै खाद्यान्न र इन्धनको अभावबाट पीडित मानिसहरूलाई नराम्ररी असर गरेको छ ।

तपाईको प्रतिक्रिया