प्यालेस्टिनीविरूद्धको कारबाही रोक्न इजरायललाई दबाब दिन आग्रह

  माघ १६, २०७९

रामल्ला, माघ १६ : प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार सीआईएका निर्देशक विलियम बन्र्सलाई प्यालेस्टाइनविरुद्धको कारबाहीलाई रोक्न इजरायललाई दबाब दिन आग्रह गर्नुभएको छ ।

“बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको नयाँ इजरायली सरकारले कारबाही रोक्न एकतर्फी कदम चाल्न र हस्ताक्षरित सम्झौताको पालना गर्न दबाब दिन तत्काल हस्तक्षेप जरुरी छ,” अब्बासलाई उद्धृत गर्दै सरकारी समाचार संस्था वाफाले जनाएको छ ।

“अन्तर्राष्ट्रिय प्रस्तावमा आधारित राजनीतिक क्षितिजलाई पुनः स्थापित गर्न, यस क्षेत्रका सबैका लागि सुरक्षा र स्थिरता हासिल गर्न महत्वपूर्ण छ,” अब्बासले बन्र्सलाई वेस्ट बैंकको रामल्लाह शहरस्थित राष्ट्रपतिको मुख्यालयमा आयोजित भेटमा भन्नुभयो । अब्बासले बन्र्सलाई पछिल्लो घटनाक्रम र पश्चिमी किनारा र पूर्वी जेरुसेलममा हालैको तनावको लहरबारे पनि जानकारी गराउनुभएको थियो ।

अब्बाससँग भेट गर्नुअघि बन्र्सले वेस्ट बैंकमा प्यालेस्टिनी सुरक्षा संयन्त्रका प्रमुखसँग वार्ता गर्नुभएको थियो । पश्चिमी किनारा र पूर्वी जेरुसेलममा इजरायल र प्यालेस्टाइनबीच बढ्दो तनावबीच सीआईए प्रमुख बिहीबार इजरायल आइपग्नुभएको थियो । जनवरीको सुरुदेखि नै इजरायल र प्यालेस्टाइनबीच तनाव बढ्दै गएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी १ देखि अहिलेसम्म इजरायली सेनाको आक्रमणमा परी करिब ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

जेरुसेलमको नेभ याकोभ इलाकामा रहेको एक सभाघर नजिकै शुक्रबार भएको गोलीकाण्डमा आठ जना इजरायलीको मृत्यु भएको थियो भने शनिबार भएको अर्को घटनामा दुई जना गम्भीर घाइते भएका इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया