कुष्ठरोगबारे सामाजिक एवं सांस्कृतिक बुझाइमा समस्या छ : मन्त्री गिरी

  माघ १५, २०७९

काठमाडौँ, माघ १५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले कुष्ठरोगबारे सामाजिक एवं सांस्कृतिक बुझाइमा देखिएको समस्याका कारण पुनःस्थापनामा समस्या भएको बताउनुभएको छ ।

आज ७०औँ विश्व कुष्ठरोगका अवसरमा कुष्ठरोग रणनीति (२०७८—२०८२) सार्वजनिकीकरण कार्यक्रममा उहाँले कुष्ठरोग निको भइसकेपछि समाजमा पुनःस्थापित हुने कुराको समस्यालाई समाधान गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

“कुष्ठरोग निको भइसकेपछि पनि समाजमा पुनःस्थापित हुने कुरा निकै जटिल छ । रोगबारे मानिसको भ्रमपूर्ण बुझाइमा परिवर्तन ल्याउन गाह्रो छ ।

त्यो मनोविज्ञान निकै गहिरो गरि गाडिएको छ”, उहाँले भन्नुभयो, “व्यवहारमा परिवर्तन ल्याउने कुरा अझै पनि चुनौतीपूर्ण छ । सबैले मिलेर सचेतना जगाउन सके मानिसको व्यवहारमा परिवर्तन आउनसक्छ ।” उहाँले अहिले विशेषगरी तराई र सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग लुकाएको हुनाले फैलिरहेको बताउनुभयो ।

पहिले कुष्ठरोगबारे निकै कहालिलाग्दो अवस्था रहे पनि अहिले भने सहज बन्दै गएको उहाँको भनाइ रहेको थियो । मन्त्री गिरीले बिरामीले नै कुष्ठरोग लुकाएको कारणले पनि उपचारमा समस्या भएको बताउनुभयो । “कुष्ठरोग लागेपछि बिरामीले परिवारलाई भन्दैन । छरछिमेकीलाई पनि भन्दैन ।

यसले झनै समस्या आउँछ”, उहाँले भन्नुभयो, “यो परिस्थितिबाट सहज ढङ्गले परीक्षण गर्ने वातावरण निर्माण गर्ने काममा सबैले योगदान गर्नुपर्छ ।” उहाँले कुष्ठरोगबारे सबैलाई परिचालन गरेर सचेतना फैलाउन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले कानुनमा पनि कुष्ठरोगबारे अझै पनि विभेद रहेको उल्लेख गर्दै त्यसलाई पनि समाधान गरेर अगाडि बढ्ने बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले आर्थिक वर्ष २०७९-८० मा नेपालमा दुई हजार दुई सय ८५ नयाँ कुष्ठरोगका बिरामी भेटिएको बताउनुभयो ।

सरकारी तथ्याङ्कअनुसार प्रदेश नं १ मा तीन सय ४५, मधेस प्रदेशमा नौ सय १०, बागमती प्रदेशमा ९३, लुम्बिनी प्रदेशमा पाँच सय ८१, गण्डकीमा ८३, कर्णाली प्रदेशमा ६८ र सुदूरपश्चिम प्रदेशमा दुई सय पाँचजनालाई कुष्ठरोग भेटिएको छ । सरकारले दिगो लक्ष्य प्राप्त गर्न सन् २०३० सम्ममा नेपालले कुष्ठरोग मुक्त बनाउने सरकारको लक्ष्य लिएको छ ।

महानिर्देशक डा सिंहले नेपाललाई कुष्ठरोग मुक्त बनाउने अभियान प्राप्तिका लागि आज कुष्ठरोग रणनीति २०७८-०८२ सार्वजनिक गरिएको जानकारी दिनुभयो । रणनीतिमा कुष्ठरोगलाई निवारण गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया