‘आर्थिक सुशासनमा ध्यान दिऔँ’

  माघ १५, २०७९

काठमाडौँ, माघ १५ : नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले लघुवित्त वित्तीय संस्थालाई आर्थिक सुशासनमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

काठमाडौँमा आज भएको नेपाल लघुवित्त बैंकर्स सङ्घको १६औँ वार्षिक साधारणसभामा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गानाले संस्थागत सुशासनमा कैफियत देखिएकाले सुधार्नु पर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक पारदर्शिता र कर्पोरेट सुशासन सुधार महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले वित्तीय क्षेत्रमा जोखिम बढिरहेको सन्दर्भमा ग्राहक संरक्षण महत्वपूर्ण विषयमा भएको बताउनुभयो ।

उहाँले लघुवित्तहरू मुनाफा कमाउनेतर्फ ध्यान केन्द्रित हुँदा समस्या भएको स्मरण गराउँदै मुनाफामा होडबाजी नगर्न सुझाव दिनुभयो ।

राष्ट्र बैंकको वित्तीय बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले ग्राहक पहिचान र विकासमा ध्यान दिन आग्रह गर्नुभयो । बजारको अवस्था नहेरी कर्जा प्रवाह गर्दा समस्या हुनेतर्फ सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घका महासचिव रामबहादुर यादवले लघुवित्तहरू महिलाको सशक्तिकरण र आर्थिक रुपान्तरणमा सहयोगी बनेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्र बैंकले वित्तीय संस्था मैत्री नीतिनियम ल्याउन जरुरी रहेको औँल्याउनुभयो ।

तपाईको प्रतिक्रिया