शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस मनाइयो

  माघ १५, २०७९

जनकपुरधाम, माघ १५ : गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

तत्कालीन राजा महेन्द्रमाथि जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा बम प्रहार गरेको आरोपमा विसं २०२० माघ १५ गते आजैका दिन मृत्युदण्ड दिइएका झाको सम्झनामा आज बलिदानी दिवस मनाइएको हो ।

यसै अवसरमा शहीद दुर्गानन्द स्मारक निर्माण समितिले जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित सोनासतिमाईस्थानमा एक कार्यक्रमबीच झाको स्मारक निर्माण कार्यको शिलान्यास गरेको छ ।

साठ्ठीऔँ बलिदान दिवसका अवसरमा ढल्केबर–जनकपुर–जटही व्यापारिक छ लेन राजमार्गअन्तर्गत सोनासतिमाईस्थानमा स्मारकको शिलान्यास गरिएको र यसै आर्थिक वर्षभित्र पूर्णकदको प्रतिमा बनाएर राखिने वडा नं २३ का अध्यक्ष राघवेन्द्र साहले जानकारी दिनुभयो ।

उहाँले २०६५ साल असार ९ गते आफ्ना पिता राजेश्वर नेपालीलगायतले झाको स्मारक बनाउन थालेको अभियानले विभिन्न अवरोधका बाबजुद १४ वर्षपछि मूर्तरूप पाउन लागेकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं मधेस प्रदेशसभा सदस्य रामसरोज यादवले शहीद दुर्गानन्द झाजस्तो तमाम व्यक्तिहरूको योगदानकै कारण देशमा सङ्घीयता र गणतन्त्र सम्भव भएकाले यसको उचित कदर हुनुपर्ने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले लामो समयपछि वरिष्ठ पत्रकार राजेश्वर नेपालीको नेतृत्वमा रहेको समितिले स्मारक बनाउन गरेको पहल सफल भएकामा धन्यवाद दिनुभयो ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गणतन्त्रवादी प्रथम शहीद झाको योगदानको सम्मान र नयाँ पुस्तालाई उहाँको योगदानबारे सन्देश दिने गरी उचित कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

आज नै शहीद झाको जन्मस्थान नगराइन नगरपालिकाको जटहीमा पनि उहाँको सम्झनामा कार्यक्रमको आयोजना गरियो ।

सो कार्यक्रममा सहभागी हुनुभएका जनकपुरधाम उपमहानगरपालिका प्रमुख साहले नगराइन नगरपालिकाको जटहीमा झाको सम्झनामा गेट निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले नगराइन नगरपालिकाले रु एक करोडको लागतमा प्रवेशद्वार बनाउन लागेको र त्यसमा उपमहानगरपालिकाको पनि सहयोग रहने जानकारी दिनुभयो ।

जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा पूजा गर्न आएका तत्कालीन राजा महेन्द्रलाई झाले विसं २०१८ माघ ९ गते बम प्रहार गर्नुभएको थियो ।

जनकपुर बमकाण्डको नामले परिचित सो घटनामा ५९ जनालाई पक्राउ गरिएको थियो भने त्यही आरोपमा पक्राउ परेका झालाई माघ १५ गते २२ वर्षको उमेरमा मृत्युदण्ड दिइएको थियो ।

तपाईको प्रतिक्रिया