नर्सलाई १० हजारमा काम लगाउनेलाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी

  माघ १५, २०७९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री नीति बनाउन सक्रिय भूमिका खेल्ने बताउनुभएको छ । बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरूको सेवा–सुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने उहाँले बताउनुयभो । नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ,’मन्त्री गिरीले भन्नुभयो,‘नर्सहरूले एउटा लेभल पास गर्नुहुन्छ । मैले सुने ८र१० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्युनतम तलब भत्ता पनि नदिइ श्रम शोषण गर्ने कुरा कुनै पनि हालतमा ठिक हुँदैन । त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रोगरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नविकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ,’उहाँले भन्नुभयो ।

संवेदनशिल पेशा भएकाले नर्सहरूमा धैर्यता जरुरी रहने उहाँले बताउनुभयो । ‘तपाईंहरू यो पेशामा आउँदाखेरी नै यो पेशाका चुनौती के–के हुन् भन्ने थाहा पाएरै आउनुभएको छ । त्यसैले जस्तोसुकै बेलामा पनि धैर्याता चाहिन्छ । तपाईंहरुको सानो लापरबाहीले एकजनाको ज्यान जानसक्छ । उसका बालबच्चा टुहुरा हुनसक्छन् र आफन्तले परिवारको सदस्य गुमाउँछन् । त्यसैले नर्सहरुको काँधमा ठूलो अभिभारा हुन्छ,’उहाँले भन्नुभयो।

दक्ष नर्सहरू राम्रो सेवा–सुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक पाटो रहेको उहाँले बताउनुभयो। ‘हामी संसारको जुनसुकै कुनामा गएर भएपनि जागिर गर्दा हुन्छ । तर हामी दक्ष हुनुपर्यो । हामीले पाउने सेवा सुविधा त्यही मापदण्डको हुनुपर्यो । आज विदेशीहरू नेपालमा आएर जागिर खाइरहेका छन् । हामी पनि जान हुन्छ,’उहाँले भन्नुभयो,‘तर श्रमको न्युन मुल्य लिएर जाने कुरा उचित हुँदैन ।ु

तपाईको प्रतिक्रिया