गङ्गालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड

  माघ १५, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको २७औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ । यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ । तपाईंहरू पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुहोस् । सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिबद्ध छ ।”

प्रधानमन्त्रीले गङ्गालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गङ्गालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ । जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन् । यसका लागि तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ । यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ ।”

प्रधानमन्त्री दाहालले शहीद गङ्गालाल हामी सबैले सम्मान गर्ने नाम भएको भन्दै तानाशाही र निरङ्कुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको बताउनुभयो । “विपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट संविधान जारी भएको र त्यसमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको बताउनुभयो । “संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिबद्ध गरिएको छ । तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुन बनाउन बाँकी नै छ । नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसद्मा पेस गर्ने प्रक्रियामा छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्रीले अगाडि थप्नुभयो, “प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो काल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण रह्यो । सोही कार्यकालमा स्वास्थ्य बीमा लागू भयो । विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो । प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो । स्वास्थ्य सेवालाई देशैभरि विस्तार गरियो । मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ । त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ ।”

तपाईको प्रतिक्रिया