सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्न

  माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : नेपाली सेनाद्वारा आयोजित चार दिवसीय फोटो तथा युनिट विशेष प्रदर्शनी आज सम्पन्न भएको छ ।

बलाध्यक्ष रथी सीताराम खड्काले जङ्गी अड्डामा एक समारोहमा सहभागी युनिटलाई कदरपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रदर्शनीमा श्री नं १७ बाहिनी अड्डा प्रथम, रिपुमर्दिनी सैनिक महाविद्यालय द्वितीय र विशेष फौज बाहिनीलाई तृतीय पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।

उक्त प्रदर्शनी करिब पाँच हजार जनाले अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको इतिहासदेखि वर्तमानसम्म भन्ने मूल नारा रहेको उक्त प्रदर्शनीमा सेनाको गौरवमय इतिहास तथा वर्तमान, उल्लेखनीय कार्य, ऐतिहासिक हातहतियार तथा उपकरण, सैनिक पोशाक, सैनिक व्याण्ड, घोडचढी, जङ्गल तथा पहाडी युद्धकलासम्बन्धी ज्ञान लिने व्यवस्था मिलाइएको थियो ।

विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत विविध सामग्री तथा फोटो प्रदर्शनीमा समेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया