प्रहरी तथा पूर्वप्रहरी र कर्मचारीलाई मेघा अस्पतालमा ५० प्रतिशत छुट

  मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारका लागि ललितपुर महानगरपालिका–३ धोबीघाटमा रहेको मेघा अस्पतालले अस्पतालको सेवामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घ र मेघा अस्पताल प्रालिबीच काठमाडौँमा आयोजित एक समारोहका बीच छुट सुविधासम्बन्धी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट अध्यक्ष श्रीमती कुसुमलता सिंह तथा मेघा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष किशोरजङ्ग राणा र चिकित्सा निर्देशक डा इवराज सिम्खडाले सम्झौतापत्रमा हस्ताक्षर गरी आदान–प्रदान गर्नुभयो ।

समारोहमा सङ्घकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपत्विपत्मा समेत आफ्नो ज्यानको प्रवाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्वप्रहरी कर्मचारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी अस्पतालमा स्वास्थ्योपचार तथा औषधिका लागि छुट दिने गरी भएको सम्झौताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा समेत सङ्घ र अस्पतालबीचको सहकार्य र समन्वय भइरहने बताउनुभयो । सो अवसरमा अस्पतालका अध्यक्ष राणाले नागरिक सुरक्षामा खटिने प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा लाभदायी हुने विचार व्यक्त गर्दै आगामी दिनमा समेत अस्पताल र सङ्घबीच आवश्यक सहकार्य हुने बताउनुभयो ।

उक्त सम्झौतापत्रमा अस्पतालको सेवा–सुविधाअन्तर्गत आइसीयू शय्या, वार्ड, क्याविन रूम, ल्याब र एक्सरेमा ५० प्रतिशत छुट, ओपिडी डाक्टर, आइसीयू वार्ड तथा क्याविन वार्ड डाक्टर राउण्ड, ओटी अपरेशन र डाक्टरले दिने सुविधामा ३० प्रतिशित र फार्मेसी औषधिमा १५ प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।

साथै आर्थिक अवस्था कमजोर भई उपचार गराउन असमर्थ रहेको भनी सिफारिस भई आएमा वार्षिक तीन जनालाई अस्पतालले निःशुल्क उपचारको व्यवस्था गर्नेछ । सम्झौता आजदेखि २०८४ मङ्सिर २२ गतेसम्म पाँच वर्षका लागि लागू हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया