लैङ्गिक हिंसा रोक्न सामाजिक जागरण जरुरी छ :मन्त्री रेग्मी

  मंसिर २३, २०७९

ललितपुर, मङ्सिर २३ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले कानुनको आडमा महिला हिंसा भइरहेको टिप्पणी गर्नुभएको छ । उहाँले समाज, परिवार र घरघरको मानसिकतामा परिवर्तन नआइकन महिला हिंसाबाट छुट्कारा नमिल्ने तर्क गर्नुभयो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने (नोभेम्बर २५–डिसेम्बर १०) अभियानअन्तर्गत सञ्चालित कार्यक्रममा मन्त्री रेग्मीले समाजमा व्याप्त लैङ्गिक हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन अनिवार्य भएको राय व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) नेपालका आवासीय प्रतिनिधि एल्के विस्चले महिलाविरुद्धको हिंसा अन्त्य गर्न महिला एक्लैको मात्र प्रयास पर्याप्त नहुने विचार व्यक्त गर्नुभयो । उहाँले हिंसा अन्त्य गर्नका लागि समाजका सबै तप्काहरूको संयुक्त प्रयास जरुरी हुने बताउनुभयो ।

कार्यक्रममा ‘हामी दाजुभाइ’का अध्यक्ष सङ्जोग ठकुरीले लैङ्गिक समानताका निम्ति महिला एक्लैको मात्र प्रयासले नहुने धारणा राख्दै त्यसको निम्ति पुरुष तथा बालबालिकाको समेत सहभागिता महत्वपूर्ण हुने तर्क प्रस्तुत गर्नुभयो । त्यसैगरी पत्रकार समा थापाले पुरुषलाई आफ्नो कमजोरी देखाउन नहुने र उनीहरु दुःख पर्दा पनि रुन नहुने भन्ने सामाजिक मान्यताले गर्दा उनीहरूमा हिंसा र कठोरपनको विकास हुन जाने मनोवैज्ञानिक तथ्यमाथि प्रकाश पार्नुभयो ।

तपाईको प्रतिक्रिया