आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक : राष्ट्रपति

  मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवद्र्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियरूपमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निर्यात प्रवद्र्र्धन गर्न सकेमात्र मुलुकको चुलिँदो व्यापार घाटा कम गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गर्दै उहाँले देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेटी नेपाली हस्तकलाका सामग्रीलाई व्यापक विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।

हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादन प्रोत्साहनका लागि सरकारले विशेष प्राथमिकता दिएको भन्दै राष्ट्रपति भण्डारीले यसबाट स्वदेशी हस्तकलालगायत उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकलाको निर्यात प्रवद्र्धन गरी बढ्दो व्यापारघाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली मौलिक हस्तकलामार्फत पर्यटन प्रवद्र्धनका योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने धारणा राख्नुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हस्तकलाको प्रवद्र्धन विकास गर्न महासङ्घले खेलेको भूमिकाको सराहना गर्दै नेपाली हस्तकलासम्बन्धी नीतिगत सुधार र नेपाली उत्पादनको उपभोग बढाउन जरुरी रहेको बताउनुभयो । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालको मौलिक व्यवसायको प्रवद्र्धनका लागि लामो समयदेखि मेलाको आयोजना गरिँदै आएको जानकारी दिनुभयो ।

हस्तकला व्यापार मेला

महासङ्घको आयोजनामा आजदेखि होटल हायातमा १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता आयोजना भएको छ । नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थानमा भेला गराई हस्तकला वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ मेला आयोजना गरिएको संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिनुभयो ।

मेलामार्फत एउटै छातामुनि हस्तकला प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर गरिने उहाँले उल्लेख गर्नुभयो ।

मङ्सिर २७ गतेसम्म सञ्चालन हुने मेलामा चारवटा प्याभिलियनसहित करिब एक सय ३० स्टल रहने आयोजकले जनाएको छ । महासङ्घका अनुसार हाल करिब रु १२ अर्ब बराबरका हस्तकला विश्वका ६० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ ।

वार्षिक कुल रु २४ अर्ब हाराहारीको हस्तकलाको कारोबार हुने गरेको छ । त्यस्तै हस्तकला उद्योग व्यवसायमा करिब आठ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न रहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया